संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीमा छनोट भएकाहरुको अन्तर्वार्ता सकिएको छ ।
पदाधिकारी सिफारिश समितिले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि छनोटमा परेका ४० जनाको कार्ययोजना र अन्तर्वार्ताको काम सकेको हो ।
अन्तर्वार्ता सकिएपछि समितिले आज आयोगका अध्यक्ष र सदस्यको नाम सरकारलाई बुझाउने तयारी गरेको छ । दुई अध्यक्षका लागि आठ जना र बाँकी आठ सदस्यका लागि ३२ जना छनोट सूचीमा परेका थिए ।
अध्यक्षका लागि छनोट भएका पाँच जनाले दुवै आयोगका लागि निवेदन दिएका छन् भने तीन जनाले सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि मात्र निवेदन दिएका छन् ।
अध्यक्षमा अच्युतप्रसाद भण्डारी, काशीराज दाहाल, डिल्लीराज आचार्य, महेश थापा, विजयसिंह सिजापति, विश्वराज कोइराला, सुदिप पाठक र शेरबहादुर केसी छनोट सूचीमा परेका हुन् ।
तीन महिनाभित्र दुई अध्यक्ष र ८ सदस्यको सिफारिस गरिसक्ने समय पाएको समितिले पर्सि पुस २ भित्र सरकारलाई सिफारिश गरिसक्नुपर्छ ।