भ्रष्टाचारी ठहर भएका नेपाल बैंकका तत्कालीन उपप्रबन्धक श्रेष्ठ १३ वर्षपछि पक्राउ

मुख्य खबर NFM संवाददाता आइतवार मंसिर ३०, २०८१

अख्तियारको दुरुपयोग गरी भ्रष्टाचारी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशिकिरण श्रेष्ठलाई १३ वर्षपछि प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको छ ।

श्रेष्ठले नेपाल बैंक लिमिटेडमा कार्यरत रहेको समयमा विभिन्न कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी बैंकलाई जम्मा ३९ करोड ८९ लाख ३१ हजार ७८४ हानिनोक्सानी गरी भ्रष्टाचारको कसुर अपराध गरेको ठहर भएको थियो । उनीमाथि छुट्टाछुट्टै दुईवटा मुद्दामा प्रतिमुद्दा ६ महिना कैद सजाय तोकिएको थियो ।  विशेष अदालत काठमाडौंबाट मिति ०६८÷५÷६ मा श्रेष्ठ सहित ऋणी लक्ष्मीप्रसाद आचार्य समेतका व्यक्तिहरूलाई दोषी ठहर गरी सजाय सुनाइएको थियो।

मिति ०७३÷०७÷२५ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासबाट विशेष अदालतको उक्त फैसला सदर भएको थियो । फैसला कार्यान्वयनका लागि अदालतको सम्पर्कमा नआई फरार रहेका निज शशिकिरण श्रेष्ठलाई ०८१ मंसिर २८ गते अपराह्न प्रहरीले स्वयम्भु, काठमाडौंबाट पक्राउ गर्न सफल भएको हो । छुट्टाछुट्टै  मुद्दामा ६÷६ महिना कैद सजाय पाएका श्रेष्ठले कारागारमा बसी कैद भुक्तानी गर्नुपर्ने भएको छ।

Leave a Comment