एनपीएल क्रिकेट : विराटनगर किङ्ग्सको दोस्रो जीत, लुम्बिनी अन्तिम खेलमा कर्णालीसँग पराजित

मुख्य खबर शुक्रबार मंसिर २८, २०८१

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले दोस्रो जीत हात पारेको छ । विराटनगरले चितवन राइनोजलाई ५१ रनले हरायो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रनमात्र बनाउन सक्यो ।

चितवनका अमर रौटेलाले सबैभन्दा धेरै ४२ रन बनाए । विराटनगरका कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । यसअघि कीर्तिपुरको त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनायो । विराटनगरका बसिर अहमदले नटआउट ६८, मार्टिन गप्टिलले ४५, राजेश पुलामीले नटआउट ३३ रन बनाए । चितवनका रिजन ढकालले २ विकेट लिए ।

यो जीतसँगै विराटनगर ६ खेलमा ४ अङ्कसहित तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । चितवन ६ खेलमा ६ अङ्कसहित चौथो स्थानमा छ ।

यस्तै आजै भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराएको छ । कर्णालीले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रनमात्र बनाउन सक्यो ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रन बनायो । यो जीतसँगै कर्णाली ६ खेलमा ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लुम्बिनीले भने ७ खेलमा १ खेल जित्दै २ अङ्क जोडेर प्रतियोगिता सकाएको छ ।

Leave a Comment