सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्साको वीरगञ्ज पु¥याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग हिजो जिल्ला अदालत सरकारी वकिलको कार्यालयमा झण्डै चार घण्टा बयान लिइएको छ ।
सरकारी वकिलको कार्यालयका मुख्य न्यायाधिवक्ता भोलानाथ निरौलाले लामिछानेसँग बयान लिनुभएको हो । सरकारी वकिलको कार्यालयमा बयान सकेर लामिछानेलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । सहकारीको रकम हिनामिना प्रकरणमा गएको कात्तिक २ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई सोमवार बेलुका सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि वीरगञ्ज लगिएको थियो ।
उँहालाई आज पोखरा फिर्ता पठाउने तयारी छ । सहकारी ठगी प्रकरणमै लामिछानेलाई अनुसन्धानका लागि यसअघि रुपन्देही, काठमाण्डौ र चितवन लगिएको थियो । यसैबीच अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले हिजो रास्वपाका नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो । अनुसन्धानको क्रममा रहेका लामिछानेको विषयलाई जोडेर अदालतको अवहेलना हुनेगरी सार्वजनिकरूपमा अभिव्यक्ति दिएको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी निवेदन दायर गर्नुभएको थियो ।