प्रधानमन्त्री केपी शर्मा ओली आज तेह्रथुम जाँदै

मुख्य खबर NFM संवाददाता बुधबार मंसिर २६, २०८१

प्रधानमन्त्री केपी शर्मा ओली आज तेह्रथुम जाँदै हुनुहुन्छ ।

आठराईस्थित प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटनका लागि ओली  हेलिकप्टरमार्फत आठराई आउन लागेको  तेह्रथुमका प्रदेश सांसद किशोरचन्द्र दुलालले जानकारी दिनुभयो । ओली बिहान साढे १० बजे तेह्रथुम आइपग्ने तेह्रथुमका सांसद सीता गुरुङले जानकारी दिनुभयो ।

ओलीको स्वागतका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की लगायत एमाले र कांग्रेसका नेता इवा पुगेका छन्। ओलीको जन्मस्थान तेह्रथुम जिल्लाको आठराई गाउँपालिका–४, इवास्थित श्री प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित १८ कोठे पक्की भवनको उद्घाटन  गर्ने कार्यक्रम रहेको दुलालको भनाइ। ओलीले सोही ठाउँमा रहेको तेह्रथुम बहुप्राविधिक शिक्षालयको पनि अवलोकन गर्नु हुनेछ ।

उक्त भवन उद्घाटनका लागि कोरियन उम हङ गिल फाउन्डेशनका प्रतिनिधि पनि आठराई पुग्ने जनाइएको छ । ओलीले केही वर्षअघि आफ्नो जन्मथलोमा रहेको पुरानो घरको छेउमा हेलिप्याड निर्माण गरेका छन् । उनी त्यहीँ अवतरण गरेर विद्यालयतर्फ जाने कार्यतालिका रहेको छ ।

स्कूल भवनको निर्माण उम हङ गिल ह्युम्यान फाउन्डेशन, कोरियाको ४ करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारबाट २१ लाख ४० हजार र आठराई गाउँपालिकाको  ६९ लाखको साझेदारीमा निर्माण भएको हो।

Leave a Comment