काठमाडौं । दक्षिण गोर्लादिय मर्यादित महिनावारी संजाल तथा राधा पौडेल फाउन्डेशनको नेतृत्वमा छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस “यौन तथा प्रजनन स्वास्थ्य अधिकारः मर्यादित महिनावारी हो आधार” भन्ने मूल नाराका साथ सम्पन्न भएको छ । आज ललितपुरमा भएको कार्यक्रमले लैङ्गिक समानता र प्रजनन स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्दै महिनावारीसँग सम्बन्धित सबै प्रकारका विभेद अन्त्य गर्नुपर्ने सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ ।
कार्यक्रममा दक्षिण गोर्लादिय मर्यादित महिनावारी संजाल र राधा पौडेल फाउन्डेशनका संस्थापक डा.राधा पौडेलले सहभागीहरूलाई स्वागत गर्दै महिनावारी विभेदलाई आत्मसाथ नगर्दा प्रजनन स्वास्थय अधिकारको अर्थ नभएको बताउनु भएको छ । मर्यादित महिनावारी दिवस मनाउन अधिकारका रुपमा माग गर्न वा मर्यादित महिनावारीमा कुनै काम गर्नका लागि सबै भन्दा पहिले हामी र हामी बाचेको समाज वरपर, अभ्यासमा रहेको जटिल , बहुआयामिक, महिनावारी विभेदका बारेमा बुझ्नु जरुरी रहेको बताउनुभयो । गत महिना मात्र श्रीलंकाले महिनावारी विभेद सम्बन्धि एउटा अनुसन्धानको रिपोर्टको उादाहरण पेश गर्दै पौडेलले ८९ प्रतिशत पहिलो पटक महिनावारी हुँदा ७ देखि ३० दिन घरदेखि छुटिएर बस्ने गरेको त्थ्य जानकारी दिनुभयो । ५८ प्रतिशत लाई पहिलो महिनावारी अघि महिनावारीको बारेमा केहि थाहा नभएको अध्ययनले देखाएका उहाँले उल्लेख गर्नुभयो छ ।
सम्मेलनमा दुई महत्वपूर्ण प्यानल छलफलहरू भएका थिए । पहिलो प्यानलमा छलफलमा सहभागि बक्ताहरुले “लैङ्गिक समानताका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकार र मर्यादित महिनावारी – नीति संवाद” विषयमा छलफल गरिएको थियो, यसमा नेपाल, अष्ट्रेलिया, पाकिस्तान र सुडानबाट प्रतिनिधिहरूले सहभागीता जनाएका थिए । दोस्रो प्यानल “मर्यादित महिनावारीको वकालतमा युवाहरूको संलग्नता” विषयमा केन्द्रित थियो, जसमा नेपाल, इन्डोनेसिया, श्रीलङ्का, र नाइजेरियाका युवाहरूको उपस्थिति रहेको थियो ।
सम्मेलनको अर्को महत्त्वपूर्ण पक्ष मिडिया फेलोशिप पुस्तक “सृष्टीको रगतको गाथा भाग २” र गीत “मेरो शरीर मेरो अधिकार” को विमोचन रहेको थियो । साथै, सामाजिक सञ्जाल चुनौती र भिडियो प्रतियोगिताका विजेता स्नेहा झालाई सम्मान गरिएको थियो । अनुसन्धानमा प्रोत्साहन स्वरूप “मितेरी अलीना विकासात्मक अपाङ्गता अनुसन्धान अनुदान” र “मितेरी सुदा – लाल मर्यादित महिनावारी अनुसन्धान अनुदान” प्रदान समेत गरिएको थियो । कार्यक्रममा डब्लुडब्लुएफ नेपालका प्रतिनिधि घनश्याम गुरुङले महिनावारी र जलवायु परिवर्तनबीचको सम्बन्धबारे विचार प्रस्तुत गरे भने युगाण्डाकी एलबीटी अधिकारकर्मी लेआ मुकोयाले आफ्नो व्यक्तिगत अनुभव साझा गर्नुभयो ।
अन्य वक्ताहरूले मर्यादित महिनावारीको महत्त्व र यसले लैङ्गिक समानता तथा स्वास्थ्य सेवामा पहुँचमा कसरी योगदान पु¥याउँछ भन्ने विषयमा प्रकाश पारेका थिए ।