झापाको दमकमा निर्माण गरिएको १८ तले भवनको आज उद्घाटन गरिने भएको छ ।
दमक नगरपालिका–३ दापगाछीमा १ अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्ने जनाइएको छ । ‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन्। सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवले बताउनुभयो । व्यापारिक प्रयोजनका निम्ति भवन उपयुक्त रहेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थियो । यसैबीच, प्रधानमन्त्री ओलीले मेचीनगर–४ बाहुनडाँगीस्थित मानव आश्रम भवनको आज नै उद्घाटन गर्ने कार्यक्रम छ ।