काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित हासिल गरेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिमले लगातार तेस्रो जित हासिल गरेको हो । लुम्बिनीको भने यो लगातार तेस्रो हार भएको छ । सुदूरपश्चिमले दिएको एक सय ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४२ रन मात्र बनाउन सकेको थियो । लुम्बिनीका लागि सबैभन्दा धेरै विवेक यादवले अविजित ७७ रन बनाए पनि टिमलाई जिताउन असफल हुनुभयो । सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेन र सैफ अली जैबले समान तीन विकेट लिनुभयो भने स्कट कुगेलेइनले दुई विकेट लिनुभयो ।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरमा चार विकेट गुमाएर एक सय ८७ रन बनाएको थियो । सुदूरपश्चिमका सेफ जेबले ९०, कप्तान दीपेन्द्रसिंह ऐरीले १९ बलमा नटआउट ३९ रन बनाउनुभयो भने लुम्बिनीका रमोन सिमोन्ड्सले दुई विकेट लिनुभएको थियो ।
लगातार तेस्रो खेल जितेको सुदूरपश्चिम तीन खेलमा छ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । खाता खोल्न नसकेको लुम्बिनी पुछारमा छ । एनपीएलकोे दोस्रो खेलमा अहिले कर्णाली याक्स र विराटनगर किङ्ग्स बिचको खेल जारी छ ।