१४ महिना अघि हमासको कब्जामा रहेका विपीन जोशी जिवितै, छिट्टै घर फर्किने इजरायलको दावी

मुख्य खबर NFM संवाददाता शुक्रबार मंसिर २१, २०८१

अघिल्लो वर्ष इजरायलमा प्यालेस्टिनी समूह हमासको आक्रमणपछि बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशी जीवितै रहेको इजरायलले बताएको छ । नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए.वासले जोशी गाजा क्षेत्रमा जिउँदै रहेको सूचना पाएको बताउनुभएको हो ।

काठमाण्डौमा हिजो पत्रकारहरुसँग भएको भेटमा उहाँले विपिन छिट्टै काठमाण्डौ फर्किने विश्वास व्यक्त गर्नुभयो । विपिनलाई राखिएको ठाउँ भने अझै पहिचान भइनसकेको उहाँको भनाइ छ ।

हमासले विपिनसहित दुई सय ५१ जनालाई बन्धक बनाएर गाजा क्षेत्र लगेको थियो । त्यसमध्ये दुई पटक भएको युद्धविराममा एक सय पाँच जनालाई रिहा गरिएको थियो भने आठ जनालाई इजरायली सेनाले उद्धार गरेको थियो । विपिनसहित ९६ जना अझै हमासको नियन्त्रणमा रहेका र उनीहरुको रिहाईका लागि पहल भइरहेको राजदूत वासले बताउनुभयो ।

अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिनुअघि इजरायल र हमासबीच युद्धविराम सम्झौता गर्ने प्रयास भइरहेको छ । युद्धविरामको लागि कतारले मध्यस्थताको प्रयास गर्दै आएको छ ।

 

Leave a Comment