पालिकाका रिक्त विभिन्न ४२ पदका लागि भएको उपचुनावको सबै नतिजा सार्वजनिक हुँदा दलहरुले पनि आ–आफ्नो समिक्षा गरिरहेका छन् । एक मेयर, एक उपमेयर, दुई अध्यक्ष, चार उपाध्यक्ष र ३४ वटा वडाध्यक्षको निर्वाचन अस्ति १६ गते सम्पन्न भयो । ४२ पदमध्ये समग्रमा कांग्रेसले १७, माओवादीले ११ र एमालेले आठ पद जितेको छ ।
जसमा नेपाली कांग्रेसले एक नगरपालिका प्रमुखसहित १७ स्थानमा जित्दा नेकपा माओवादी केन्द्रले एक पालिका अध्यक्ष, तीन उपप्रमुख/उपाध्यक्ष र सात वडा अध्यक्षसहित ११ स्थानमा जित्यो । संसदको दोस्रो ठुलो दल नेकपा एमालेले एक अध्यक्ष, दुई उपाध्यक्ष र पाँच वडा अध्यक्ष सहित ८ स्थान जितेर तेस्रो स्थानमा पुग्यो ।
यस उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालले २ स्थान जितेको छ । पहिलो पटक स्थानीय तह उपनिर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित नेकपा एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र स्वतन्त्र उम्मेदवारले एक÷एक स्थानमा जित हासिल गरेका छन् ।
संसदको पाँचौँ शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शुन्य भयो अर्थात् कुनै पनि स्थानमा जित्न सकेन । पालिका उपचुनावको परिणामले राजनितिक दलहरुको हैसियत कस्तो छ भनेर स्पष्ट पारेको छ । साथै यस परिणमलाई विभिन्न कोणबाट विश्लेषण गरिएको छ ।
सत्तारुढ दललाई धक्का
अहिले निर्वाचन भएका स्थानमध्ये २०७९ सालमा कांग्रेसले २५ स्थानमा जित हासिल गरेको थियो । अहिले काँग्रेस १७ स्थानमा खुम्चिन पुग्यो ।
यसअघि जितेकामध्ये बाँकी ६ वटा वडाध्यक्ष पद एमालेले उपनिर्वाचनमा गुमायो । तर, अघिल्लो निर्वाचनमा हार बेहोरेको एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र चार वटा वडाध्यक्ष पदमा ‘कमब्याक’ गरेको एमाले ८ स्थानसहित तेस्रो भएको छ ।
माओवादीमा उत्साह
कांग्रेस–एमाले मिलेर सरकार बनाएसँगै प्रतिपक्षी कित्तामा पुगेको नेकपा माओवादी केन्द्रलाई यो उपनिर्वाचनले उत्साह थपिदियो । अहिले उपनिर्वाचन भएको स्थान मध्ये माओवादीले २०७९ को निर्वाचनमा दुई उपाध्यक्ष र ६ वडाध्यक्ष गरी ८ स्थान जितेको थियो । अहिले माओवादीले ११ पदमा जित निकाल्दै दोस्रो हुन सफल भयो ।
यो उपनिर्वाचनलाई प्रतिष्ठाको रुपमा हेरेका दलहरुले अव २०८४ को निर्वाचनलाई लिएर अड्कल काटिरहेका छन् ।
नेकपा एमालेका केन्द्रिय सदस्य निरज आचार्य मुलधारका राजनितिक दलहरुप्रति नागरिक प्रतिवद्ध रहेको संकेत गर्ने दावी गर्नुहुन्छ । नेपाल एफएम नेटवर्कको कार्यक्रम समय समिक्षा मा कुरा गर्दै आचार्यले दलहरुलाई आफ्नो मुल कर्मबाट दायाँ बायाँ गर्ने छुट छैन भन्ने सबक पनि यस उपनिर्वाचनले सिकाएको बताउनुभयो । उपनिर्वाचनको नतिजालाई सकारात्मक रुपमा लिएको र समिक्षा गर्न भने आवश्यक रहेको नेता आचार्यको भनाई छ ।
निरन्तर ओरालो यात्रामा देखिएको माओवादीलाई उपनिर्वाचनले राहत दिएको छ । माओवादी एक्लै चुनाव लड्न सक्दैन भन्ने भाष्य चिर्न सफल भएको माओवादीको बुझाई छ । नेता हिमाल शर्मा माओवादी आफ्नै भरमा उभियोस् भन्ने सन्देश यस उपनिर्वाचनले दिएको बताउनुहुन्छ ।