दीपेन्द्रको अर्धशतकमा विराटनगरविरुद्ध सुदूरपश्चिमले दियो प्रतियोगिताकै उच्च लक्ष्य

मुख्य खबर NFM संवाददाता मङ्लबार मंसिर १८, २०८१

दीपेन्द्रको अर्धशतकमा विराटनगरविरुद्ध सुदूरपश्चिमले दियो प्रतियोगिताकै उच्च लक्ष्य

कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध १८३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

 

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८२ रन बनायो ।

 

जारी प्रतियोगितामा यो सबैभन्दा ठूलो योगफल हो । यसअघि, सोमबारको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध १४१ रन बनाउनु नै ठूलो योगफल थियो ।

 

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ५७ रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका उनले २४ बलमा तीन चौका र पाँच छक्का प्रहार गरे । योसँगै दीपेन्द्र जारी प्रतियोगितामा अर्धशतक बनाउने चौथो ब्याटर बने । यसअघि, जनकपुरका दुई ब्याटर लहिरू मिलान्था र अनिल साहसँगै विराटनगरका मार्टिन गप्टिलले अर्धशतक बनाएका थिए ।

 

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ५७ रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका उनले २४ बलमा तीन चौका र पाँच छक्का प्रहार गरे । योसँगै दीपेन्द्र जारी प्रतियोगितामा अर्धशतक बनाउने चौथो ब्याटर बने । यसअघि, जनकपुरका दुई ब्याटर लहिरू मिलान्था र अनिल साहसँगै विराटनगरका मार्टिन गप्टिलले अर्धशतक बनाएका थिए ।

८९–५ को स्थितिमा ब्याटिङमा आएका दीपेन्द्रले छैटौँ विकेटका निम्ति इशान पाण्डेसँग २५ बलमा ४९ रनको साझेदारी गर्दै सुदूरपश्चिमको इनिङ सम्हालेका थिए । १७औँ ओभरको पाँचौँ बलमा आउट हुुनुअघि इशानले १६ बलमा दुई चौका र एक छक्कासहित २१ रन बनाए । इशानलाई विराटनगरका विकेटकिपर लोकेश बमले रनआउट गरे ।

सुदूरपश्चिमले पहिलो इनिङको अन्तिम ६ ओभरमा ८५ रन बनाएको थियो । खेलको १४ ओभरसम्म सुदूरपश्चिमले पाँच विकेट गुमाएर ९७ रन बनाएको थियो ।

सुदूरपश्चिमका ब्रान्डन म्याकमुलमले ३६ रन जोडे । १३औँ ओभरको चौथो बलमा आउट भएका उनले २६ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । म्याकमुलमलाई अनिल खरेलले प्रतिश जिसीबाट क्याच गराउँदै पभेलियनको दिशा देखाएका थिए ।

ओपनर विनोद भण्डारीले २३ रन बनाए । अनिल खरेलले गरेको पाँचौँ ओभरको चौथो बलमा प्रतिश जिसीबाट क्याच हुनुअघि उनले २० बलमा चार चौका प्रहार गरे । सैफ जैबले १४ रन थपे । ११औँ ओभरको तेस्रो बलमा बोल्ड भएका जैबले १५ बलमा एक छक्कासहित १४ रन बनाए ।

१९औँ ओभरको तेस्रो बलमा आउट भएका स्कट कुगलेनले ६ बलमा दुई चौका प्रहार गर्दै १० रन जोडे । उनलाई विराटनगरका क्रिस सोलले निकोलस किर्टोनबाट क्याच गराएका थिए ।

यसबाहेक आरिफ सेखले पाँच बलमा दुई चौकासहित नौ रन बनाए । ओपनर अमित श्रेष्ठले एक रन थपे ।

विराटनगरका अनिल खरेलले तीन विकेट लिए । चार ओभर बलिङ गरेका अनिलले २६ रन खर्चिए । क्रिस सोल, इस्मत आलम र बसिर अहमेदले समान एक विकेट लिए । विराटनगरका कप्तान सन्दीप लामिछाने विकेटविहीन रहे । चार ओभर बलिङ गर्दा उनले ३१ रन खर्चिए ।

प्रतियोगितामा सुदूरपश्चिको यो पहिलो खेल हो । विराटनगरको भने दोस्रो खेल हो । विराटनगर यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।

Leave a Comment