काठमाडौं : सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन लगिएको छ ।
उनलाई बुद्ध एयरमार्फत चितवन लगिएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले जानकारी दिनु भयो । सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मङ्सिर ५ गते पूरक निवेदन दर्ता भएपछि बयानको लागि काठमाडौँबाट लामिछानेलाई सिधै चितवन लगिएको हो । सहारा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र रामबहादुर खनाललाई दुई दिन लगाएर बयान लिइएको थियो ।
उनीहरूलाई आइतबार चितवन ल्याएर हिजो बयान लिइएको थियो । लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा हिजो बयान सकिएको थियो । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार लामिछानेसँग ७४ वटा प्रश्न सोधिएको छ । स्वर्णलक्ष्मीबाट लिएको ऋण, फिर्ता रकम र फिर्ता हुन नसकेको रकमबारे उनलाई प्रश्न गरिएको थियो ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समिति चितवनले हिजो जिल्ला भेला सम्पन्न गरि आजदेखि लामिछानेलाई पक्राउ गरिएको बिरोधमा प्रदर्शन गर्ने तयारी समेत गरेको छ । रास्वपा जिल्ला सभापति कृष्ण भुसालले दुई जना मात्रै रहेको जिल्ला समितिलाई २३ जना पुर्याएको बताउनुभयो । उहाँले चितवनमा आफ्नो सभापतिको पक्राउको विरोधमा प्रदर्शनको आन्तरिक रणनीति समेत बनाएको जानकारी दिनुभयो ।