हिजो सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ । अहिलेसम्मको नतिजामा कांग्रेसमा अग्रस्थानमा रहेको छ ।
कांग्रेसले अहिलेसम्म १५ वडामा विजय हासिल गरेको छ भने एमालेले ५ स्थानमा जित हात पारेको छ । यस्तै , माओवादी केन्द्रले ४, जसपा नेपालले २, एकीकृत समाजवादीले १, नेमपकिपाले १ र स्वतन्त्र उम्मेदवारले पनि एक ठाउँमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अमिन थारु विजयी हुनुभएको छ । उहाँले १ हजार ४३ मत प्राप्त गर्नुभयो । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाही ३ हजार १२७ मत ल्याउँदै विजयी हुनुभएको हो । डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका मोहन थापा विजयी हुनुभएको छ । रौतहटको गढीमाई नगरपालिका–८ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादव विजयी हुनुभएको छ भने, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा विजयी भएकी छन् ।
उता तेह्रथुमको लालीगुराँस नगरपालिका–३ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार नगेन्द्र लिम्बु विजयी बननुभएको छ । यस्तै ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ को वडाध्यक्षमा एमालेले जितेको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ को वडाध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी भएका छन्। डाक्नेश्वरी– १ धीरेन्द्रकुमार साह र डाक्नेश्वरी– ४ मा देवेन्द्रप्रसाद यादव निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिनुभयो ।