प्रधानमन्त्री केपी शर्मा ओलीको भोलिदेखि शुरु हुने चारदिने चीन भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हिजो राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर चीन भ्रमणको तयारीबारे जानकारी गराउनुभएको छ ।
भ्रमण तयारीको लागि चीन जानुभएकी परराष्ट्रमन्त्री राणा चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेर हिजो स्वदेश फर्कनुभएको हो । बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सम्बन्धी सम्झौताको दस्ताबेजमा सत्तारूढ कांग्रेस र एमालेबीच सहमति भइसकेको छ । दस्ताबेजको मस्यौदा नेपाल सरकारले चीन सरकारलाई पठाइसकेको छ । यसबारे परराष्ट्रमन्त्री राणाले अस्ति चीनमा रहेकै बेलामा चिनियाँ अधिकारीलाई जानकारी गराउनुभएको छ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणको बेला मस्यौदामा हस्ताक्षर हुने नेताहरुले बताएका छन् । बीआरआईअन्तर्गत सञ्चालन हुने परियोजनामा नेपाल सरकारले अनुदान मात्रै लिने सत्तारूढ दुई दलको साझा धारणा बनेको हो । बीआरआई सहकार्य फ्रेमवर्कको मस्यौदामा नेपालले पूर्वाधार, सहरी विकास र कनेक्टिभिटीसँग सम्बन्धित एक दर्जन परियोजनाको सूचीसमेत राखिएको छ ।