म र मेरो भोगाई

समाज शनिबार मंसिर १५, २०८१

म सुजाता गौतम, मकवापुरगढी गाउँपालिका वडा नम्वर २ निबासी पुर्ण अशक्त अपागंता भएको व्यक्ति । मलाई नशा सम्बन्धी समस्या छ, दिनदिनै मेरो शरिरका समस्याहरु बढ्दै गएको कारण धेरै चिन्तित छु ।

समाधान नभएको समस्या यो संसारमा नै हुँदैन रे, पक्का पनि मेरो समस्याको केहि औषधि त होला नि लागिरहन्थ्यो । एक दिन बरिष्ठ न्युरोेसर्जन डाक्टर बसन्त पन्तको बारेमा सुनँे, उहाँ नशा रोगको लागि भगवान् हुनुहुन्छ, उहाँले हरेक नशा सम्बधि रोग ठिक बनाउन सक्नुहुन्छ । नशा सम्बधी उहाँले हेरे पछि धेरै व्यक्ति ठिक भएका उदाहरण पनि देखेको र सुनेको थिएँ ।

म पनि ठिक हुने आशामा धेरै सपनाहरु मनमा सजाउदै खुसि हुदँै गएँ । डा. बसन्त पन्तलाई भेटेर परामर्श लिन पहिला देखि नै नाम लेखाउनु पर्ने रहेछ । करिब १५ दिन पछि मेरो पालो आयो ।

म आफन्तको सहयोगमा सन् २०१७ अक्टुवर ५ का दिन अन्नपुर्णन्युरो हस्पिटलमा गएँ । मैले सपनामा सिसाको महल मनमा बनाएँ र डाक्टर बसन्त पन्तसँग भेटेको थिएँ । डाक्टरको कुराले म त एक छिनमा नै चक्नाचुर भएँ । सबै सपनाहरु चर्कीयो, फुट्यो, मेरो मन छियाछिया भयो । एकैछिनमा मेरो मन भित्रको आशाको मुहान सुकेर एक्कासी मरुभुमी सरह भयो । म उहाँको कुरा सुन्दा सुन्दै धेरै रोएँ, म मा ठुलो आँधिबेरि, तुफान धेरै वेगमा आयो । मैले केहि देखिँन, एक्कासी म जिउँदो लास जस्तै भएँ, चेतना नै हरायो, मेरो वरिपरि अन्धकार भयो । म डाको छोडेर नै रोएछु । मसँगै हस्पिटल जानु भएका र वरिपरिका व्यक्तिहरुको सबै जनाको आँखा रसाएका थिए । मैले सबैलाई गाह्रो बनाएँ ।

डाक्टर पन्तका अनुसार मलाई एटेक्सीया भएको रहेछ । यो आफैमा रोग भने होईन, अन्य रोग सँगै आउने गर्दछ । यो दुलर्भ मात्रामा पाईन्छ । १००० जना व्यक्तिहरुमा २ जनालाई एटेक्सिया प्रभावित हुने सम्भावना रहेछ । यसले मानिसको मष्तिस्क, नशा, कानमा प्रभाव पर्ने रहेछ । शरिरको सानो मष्तिकले शरिरको सम्पुर्ण भाग सन्तुलनमा राख्ने र यो भागमा असर गर्न हुदाँ क्रमिक रुपमा शरिरको सम्पुर्ण कुरामा सन्तुलन गुम्दै जान्छ ।

सम्पुर्ण व्यक्तिहरुमा उमेर, लिंग, स्थान आदि जुनसुकै समय संक्रमण हुन सक्ने सम्भावना रहन्छ । एटेक्सिया संक्रमण हुने बितिकै मरिहाल्ने भन्ने हुँदैन । एटेक्सिया प्रभावित भएको ५ वर्ष देखि ८० वर्ष सम्मको आयु रहन्छ । एटेक्सिया प्रभावित भएपछि नियमित थेरापि, सन्तुलीत खाना, विभिन्न रोगको संक्रमण बाट बच्ने, स्याहासुसार, सरसफाई आदिको राम्रो व्यवस्था भएमा ढिलो रुपमा मात्र यसको असर देखिन्छ । एटेक्सिया के कारण हुन्छ र निवारण हाल सम्म पत्ता नलागेको, विभिन्न देशमा अध्ययन र अनुसन्धान भइरहेको डाक्टर पन्तले नै बताउनुभयो ।

यो परिक्षणबाट मात्रै थाहा हुने तर एटेक्सिया परिक्षण गराउने सुविधा हालसम्म नेपालमा नभएको इन्डिया लगाएतका अरु देशमा भने जाँच गराउँन सकिने जानकारी गराउनुभयो । मेरो समस्या, एम.आर.आई, सिटिस्क्यान, लक्ष्यण सबै एटेक्सिया सँग मिल्लोजुल्दो भएको कारण मलाई पनि एटेक्सिया भएको भन्नुभयो ।

मलाई टाईफाइट ज्वरोका कारण सानो मष्तिस्कको नशामा असर गरेको छ । यसले बिस्तारै शरिरभरि नै कमजोरी बढ्छ । मलाई हिँडाई जस्तै, शरिरका हरेक अंगमा असर गर्दछ । स्वास लिन पनि अक्सिन सिलिन्डर नै घरमा राख्नु पर्ने र लिनु पर्न सक्छ । खाना पाईप बाट लिनुपर्नेछ, दिशापिसाब पनि ओछ्यानमा नै वा नियन्त्रणमा कठिनाई आदि हुन सक्छ, तपाई दिमागी रुपमा तयारी हुनु ।

यदि तपाईलाई दिमागमा ट्युमर भएको भए हामी निकालेर तपाईलाई ठिक बनाउन सक्थ्यौं, तर तपार्र्र्र्र्र्र्र्र्र्र्र्र्र्ईलाई गति भंंग (एटेक्सिया) भएको छ, हामी निको बनाउन असक्षम छौं, सरि भन्नु भयो । तपाईलाई परेको समस्या सबै थाहा छ तर केहि गर्न सक्दैनौँ, डाक्टर पन्तले भन्नुभयो । यो फिजियोथेरापि, सन्तुलित खाना, चिन्ता कम भएमा सुस्त रुपमा बढ्छ तर, सबै मिलेन र चिन्ता लिएमा छिटो छिटो बढ्छ । यसलाई कस्तो बनाउने तपाईको हातमा छ, उहाँले भन्नुभएको थियो ।

म कोठामा एक्लै रोएर बस्ने भएँ । मलाई त सधैं डाक्टरका कुराले मात्रै सताउने, मनमा हरपल खेलिरहने भयो । घरमा दिउँसो पनि म डरले कोठामा ढोका लगाएर मात्रै बस्थँे । मलाई मर्न मात्रै मन लाग्थ्यो, डाक्टरले भनेको कुरा मात्रै मनमा आउने, म हरेक पल कसरी आत्महत्या गर्ने होला मात्रै मनमा सोचिरहन्थेँ । म आँफै मर्न पनि नसक्ने र बाँच्न पनि धेरै कष्ठ भएको थियो । आत्माहत्या गर्न पनि अरुको सहयोग लिनुपथ्र्यो । बिस किन्न पसल जान नसक्ने मलाई बिस किनेर मर्न सहयोग गर्ने व्यक्ति थिएन । झुन्डिएर मर्न आफैं डोरि बाँध्न नसक्ने हुनाले मलाई धेरै कठिन थियो । घरमा बस्दा मनमा अनेकौं कुरा खेल्ने, राती निन्द्रा नलाग्ने धेरै पिडा थियो ।

म डाको छोडेर रुनु, चिच्चाउनु, कराउनु बाहेक केहि गर्न सक्दैनथेँ । म रोएँ भने आमा म भन्दाँ धेरै रुनु हुन्थ्यो । मैले आमालाई अहिले सम्म सुख दिन त सकिनँ, मेरो कारण आमाको आँखामा आँसु हेर्न सक्दिनँ । म सधैभरि एक्लै र राति मात्रै धेरै रुन्थें, बिहान उठ्दा उस्तै आँसु बिहिन आँखा हुन्थ्यो तर भित्र भित्रै आँसुको मुहान थियो ।

म आफुलाई नियन्त्रण गरि, जर्वजस्ति फुट्न दिन्नथेँ । एक्लै मात्र बस्न मन लाग्थ्यो, मान्छे घरमा कोहि आएर गफ गर्दा नि दिक्क लाग्ने गथ्र्यो । मलाई बोल्न मन नलाग्ने, खानामा मन नलाग्ने कुनै कुरामा स्वाद थिएन, राति निन्द्रा थिएन । मलाई हरेक कुराले डर मात्रै लाग्थ्यो, विभिन्न कुरा धेरै मनमा खेल्ने, तिल जत्रो कुरालाई मनमनै पहाड जत्रो बनाउथें, अनि त्यहि कुराको चिन्ताले धेरै सताउथ्यो । म डिप्रेसनको पराकष्टमा बाँचेको थिए ।

म यति सम्म कमजोर भएँकी, ओछ्यानमा नै परेँ, हरेक कुरा अरुको सहयोगमा मात्रै चलेको छ । हरेक रोगले पहिला नै संक्रमण मलाई सक्रिय सहभागिता गराउदै आएको छ । धेरै समयसम्म असर वा समस्या, कमजोरी रहन्छ । एउटा समस्या मुस्किलले मात्रै निको हुन्छ । फेरि केहि दिन पछि अर्को समस्या हुन्छ । म सदावहार बिरामी हुन्छु, प्रकृतीमा आएको सामान्य परिर्वतनले पनि मेरो शरिरीक स्वास्थ्यमा असर गर्छ ।

मलाई डाक्टर बसन्त पन्तले सबै कुरा भनिदिनु भएर ठुलो गुण लाउनु भएको छ । अहिले मलाई भएको समस्यालाई स्विकार्दै छु । एटेक्सियाको बारेमा धेरै कुरा आफैले खोजी गरि थाहा पाएको छु । यदि मलाई डाक्टरले सबै कुरा नभन्दिनु भएको भए म आज सम्म अलमलमा नै हुन्थँे । अरुका अनेकौँ कुराको पछि मात्रै लागेर भौतारिएको मन लिएर हिड्थेँ होला । धेरै पैसा समय सबै परिवारको नै बर्बाद हुनेथियो ।

अहिले आफुलाई भएको समस्याको बारेमा थाहा छ, म ढुक्क छु । मेरो शारिरीक कठिनाई त उस्तै छ, मानसिकता भने सामान्य रहेको छ । अहिले मेरो शरिरमा आएको समस्यालाई सामान्य रुपमा लिन थालेको छु । अहिले म मा आत्मबल छ, म मा हिम्मत छ, मेरो समस्यासँग लड्न म सक्षम छु । यसमा मेरी आमा सँदैव मेरो अगाडी खम्बा बनिदिनुहुन्छ । मलाई समाजमा कस्ले के भन्ला डर छैन । म जे छु, जस्तो छु निर्धक्क बाँचिरहेको छु ।

अन्तमा, धेरै–धेरै धन्यवाद डाक्टर पन्त । कुनै पनि बिरामीलाई उसको समस्या मलाई जस्तै भनिदिनु होला । दिर्र्र्र्र्घकालिन रुपमा हरेक कुरामा आफुलाई जोगिन र भिड्न शरिर र मन तयार हुने रहेछ । मैले त बेलैमा डाक्टर बसन्त पन्त जस्तो स्पष्ट व्यक्तिलाई भगवान्को रुपमा भेटँे । सत्यकुरा पहिला तितो लाग्ने रहेछ, मेरो अनुभवले यहि भन्छ ।

 

Leave a Comment