भोलि हुने उपचुनावको तयारी अन्तिम चरणमा

मुख्य खबर NFM संवाददाता शनिबार मंसिर १५, २०८१

काठमाडौं : भोलि हुने पालिका उपचुनावको तयारी अन्तिम चरणमा पुगेको छ । आज मतदान केन्द्रहरुमा बुथ बनाउने लगायतका काम हुने निर्वाचन आयोगले जनाएको छ ।

उपचुनाव हुने पालिकाका जिल्ला निर्वाचन कार्यालयहरूले सम्बन्धित पालिकामा खटिएका कर्मचारीहरूलाई ५८ प्रकारका निर्वाचन सामग्री हस्तान्तरण गरिसकेका छन् । रिक्त रहेका ४४ पदमध्ये तीन पदमा एकल उम्मेदवारी परेकाले ४१ पदका लागि मात्रै भोलि मतदान हुनेछ ।

मतदानका लागि १ सय ६२ मतदान स्थल र २ सय ९३ मतदान केन्द्र कायम गरिएका छन् । उपचुनावको प्रचार प्रसारको अवधि अस्ति मध्यरातदेखि नै सकिएको छ । निर्वाचन आयोगले प्रचार प्रसारको अवधि सकिएकोले कुनै पनि चुनाव प्रचारका गतिविधि नगर्न निर्देशन दिएको छ ।

आयोगले कुनै पनि उम्मेदवार वा दलको पक्ष र विपक्षमा मतदानका लागि प्रभावित गर्ने गरी कुनै प्रकारका काम नगर्न भनेको तथा सञ्चार माध्यम र सामाजिक सञ्जालबाट उम्मेदवार र दलका सन्देश पोष्ट वा शेयर नगर्न पनि सचेत गराएको छ ।

प्रचार निषेध गरिएको अवधिमा प्रचार प्रचारका गतिविधि गरे तत्काल कारवाही गर्ने चेतावनी निर्वाचन आयोगले दिएको छ ।

Leave a Comment