एनपीएलको उत्साहपूर्वक प्रतीक्षा, भोलि भव्य उद्घाटन हुँदै

मुख्य खबर NFM संवाददाता शुक्रबार मंसिर १४, २०८१

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) भोलिदेखि शुरू हुँदैछ । एनपीएललाई लिएर स्वदेश र विदेशमा रहेका नेपाली क्रिकेटप्रेमी उत्साहित हुँदै व्यवग्रतापूर्वक प्रतीक्षा गरिरहेका छन् ।

 

यस प्रतियोगिता सशक्त टिम र विश्व क्रिकेटका चर्चित खेलाडीको सहभागिताका कारण पनि बढी चर्चामा छ । क्रिकेट टिममा भइरहेको लगानी र आकर्षणले पनि नेपाली क्रिकेटप्रति सार्वजनिक चासो बढ्दो छ ।

 

काठमाण्डौको कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा भोलि एनपीएलको भव्य शुभारम्भ हुने क्यानका प्रवक्ता छुम्बी लामाले बताउनुभयो । उद्घाटन खेल विराटनर किङ्स र जनकपुर बोल्टबीच हुनेछ ।

 

नेपाली क्रिकेटका लागि एनपीएल आयोजना हुनु ठूलो उपलब्धि भएको र देशविदेशका नेपाली र विदेशी क्रिकेटप्रेमीहरूले समेत यो प्रतियोगितालाई चासोपूर्वक लिएका भन्दै लामाले क्रिकेटप्रति नेपालीहरूले देखाएको उत्साह र समर्पणले क्यानलाई पनि ऊर्जा थपिएको बताउनुभयो ।

 

घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट, चितवन राइनोज, काठमाण्डौं गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

 

प्रतियोगितामा विश्वकपसहितका उच्चस्तरीय प्रतियोगिता खेलेका चर्चित स्वदेशी तथा विदेशी खेलाडी विभिन्न टिमबाट खेल्दैछन् । हरेक टिममा न्यूनतम चारदेखि अधिकतम ६ जनासम्म विदेशी खेलाडी छन् । कतिपय टोलीका विदेशी खेलाडी नेपाल आइपुगेका छन् भने कति आउने चरणमा रहेको क्यानले जनाएको छ ।

 

 

स्वदेश तथा विदेशका चर्चित खेलाडीको खेल कौशल हेर्न त्रिवि क्रिकेट मैदानमा दर्शकको बाक्लो उपस्थिति रहने निश्चित छ ।

Leave a Comment