बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन गर्न अनुदानका लागि पुनः प्रस्ताव माग

मुख्य खबर बिहिबार मंसिर १३, २०८१

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बाल श्रम मुक्त घोषणा कार्यक्रम सञ्चालन गर्न अनुदानका लागि पुनः प्रस्ताव माग गरेको छ । बाल श्रम मुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन गर्न अनुदानका लागि पुनः आवेदन माग गरेको हो ।

यसअघि प्रस्ताव माग गरिएकोमा प्राप्त आवेदन नपरेपछि मन्त्रालयले दोस्रो पटक सूचना जारी गरेको हो । अब आगामी पुस १५ गतेभित्र आवेदन दिन सकिनेछ ।

चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार बाल श्रम मुक्त स्थानीय तह घोषणाको लागि सशर्त अनुदान शीर्षकमा १०० वटा स्थानीय तहलाई बाल श्रम मुक्त स्थानीय तह घोषणा अभियान सञ्चालन गर्न २ करोड १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

त्यसका लागि मन्त्रालयले २०८१ असोज १३ गते ६०० दिनको समयावधि तोकेर पहिलो पटक प्रस्ताव आह्वान गरेको थियो । उक्त समयमा प्राप्त आवेदन नपरेपछि मन्त्रालयले दोस्रो पटक प्रस्ताव आह्वान गरेको हो ।

इच्छुक स्थानीय तहले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि, २०७७ को अनुसूची १ बमोजिमको घरधुरी सर्वेक्षण सम्पन्न गरेको प्रतिवेदनसहित प्रस्ताव पेस गर्नुपर्नेछ ।

Leave a Comment