कम्बोडियाको पाँचदिने भ्रमण सकेर स्वदेश फर्किए सभामुख घिमिरे

मुख्य खबर NFM संवाददाता बुधबार मंसिर १२, २०८१

काठमाडौं :  कम्बोडियाको पाँचदिने भ्रमण सकी सभामुख देवराज घिमिरे स्वदेश फर्किनु भएको छ ।

पाँच सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै राजधानी नोमपेन्ह पुगेका सभामुख थाई एयरको जहाजबाट मंंगलबार बेलुकी काठमाडौं फर्किएका हुन्। सभामुखलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलगायत उच्च अधिकारीले स्वागत गर्नु भएको थियो  ।

सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आइपीटीपी) को ११ औँ पूर्णसत्रमा सहभागी हुन गएका हुन्। उनले आइतबार सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी) को ११ औँ पूर्णसत्रमा सम्बोधन गर्नु भएको थियो ।

सभामुख घिमिरेले कम्बोडिया भ्रमण सफल रहेको भन्दै नेपालको शान्ति प्रक्रियाको उपलब्धि विश्वभर प्रवर्धन गर्न सफल भएको दाबी गर्नु भयो ।

कम्बोडिया पनि नेपालजस्तै घरेलु द्वन्द्वलाई शान्तिपूर्ण तवरले अन्त्य गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढेको बताउँदै सभामुख घिमिरेले मेलमिलापबाटै पुनर्निर्माण र समृद्धि सम्भव हुने धारणा राख्नु भयो ।  युद्धबाट बाहिर निस्कँदै सीमित कम्बोडियाली नेताहरूले शुरु गरेको समृद्धि यात्राबाट पाएको सफलता नेपालका लागि सिकाइको विषय हुने उँहाले बताउनु भएको छ ।

कम्बोडियामा रहँदा सभामुखले प्रधानमन्त्री सम्देच हुन मानेट, माथिल्लो सदन सिनेटका अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री सम्देच हुन सेन, कम्बोडियाको राष्ट्रिय सभाका अध्यक्ष खुऔन सुदारीसँग भेटवार्ता गर्नु भएको थियो ।

Leave a Comment