नागढुङ्गा सहकारी ठगी मुद्दाका दुई आरोपी पुर्पक्षका लागि थुनामा

मुख्य खबर NFM संवाददाता सोमवार मंसिर १०, २०८१

काठमाडौं : जिल्लाको फलेवास नगरपालिका–१ कार्कीनेटामा रहेको नागढुङ्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना प्रकरणमा दुई जना पुर्पक्षका लागि थुनामा पुगेका छन् ।

 

कार्कीनेटामै घर भएका सहकारीका कोषाध्यक्ष ५९ वर्षीय दीर्घनारायण शर्मालाई गत कार्तिक १० गते प्रहरीले नियन्त्रणमा लिएको थियो । यस्तै फलेवास– २ थापाठाना घर भएका २६ वर्षीय अनिलबहादुर थापा कार्तिक २६ मा नेपाल र छिमेकी मुलुक भारतको सिमानामा पर्ने झापाको मेचीनगर नगरपालिका– ६ काकडभित्ताबाट पक्राउ परेका थिए ।

 

उनीहरूलाई अदालत पेश गरिएकोमा पर्वत जिल्ला अदालतमा गत मङ्सिर ७ गते भएको थुनछेक आदेशले दुवै जनालाई पुर्पक्षको लागि जिल्ला कारागार पर्वतमा चलान ग÷ेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले बताउनु भयो ।

 

सहकारीका सञ्चालक तथा व्यवस्थापकबाट रकम हिनामिना भई सहकारी ऐन अन्तर्गतको ठगी भएको उजुरीपछि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले यस प्रकरणमा अध्ययन सुरु गरेको थियो। सहकारी ऐन,  २०७४ अन्तर्गतको सहकारी ठगी मुद्दामा अनुसन्धानको क्रममा ४०५ जनाको तर्फबाट सञ्चालक तथा व्यवस्थापकहरू विरुद्ध किटानी जाहेरी परेको थियो ।

 

सहकारीका सञ्चालकहरूले पाँच करोड ६४ लाख ५३ हजार ३७९ रुपैयाँ बराबर हिनामिना गरेकोले त्यसको क्षतिपूर्ति पाउनुपर्ने उजुरीकर्ताले बताएका छन् ।

Leave a Comment