काठमाडौं महानगरपालिकाले ४९७ पसलको अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालन भएका पाइएको छ । साथै २०० बढी व्यवसाय दर्ता नगरी सञ्चालन भएको पाइएको हो । गत असोज १० गतेदेखि कामपाले शुरु गरेको पर्वलक्षित अनुगमनमा ४९७ पसलमध्ये २० वटा नियमानुसार सञ्चालन भएका पाइएको महानगरपालिकाले जनाएको छ ।
१३३ वटामा म्याद सकिएका वस्तु भेटिएका छन् भने ३११ वटामा मूल्य सूची फेला नपरेको, दुई सय व्यवसाय दर्ता नगराई सञ्चालन भएको पाएको कामपाको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिनु भयो । उँहाका अनुसार अनुगमन गरिएका पसलमध्ये ४८ किराना, १८ मिठाइ, १९ ड्राई फुड, सात मसला र १५ वटा डेरी पसल छन्। बजारमा बिस्कुट, चकलेट, चाउचाउ, पापड, मसला, केचअप, जामलगायत खाद्य वस्तुमा म्याद सकिएको पाएको न्यौपानेले बताउनुभयो ।
रसायन भएका वस्तुसँगै खाद्य वस्तु राखिएको, मूल्यसूची नराखिएको, व्यवसाय दर्ता नगरेको, पसल परिसरको सरसफाइमा ध्यान नदिएको, लेबल नभएका वस्तु बेच्न राखिएको, ढक तराजु प्रमाणीकरण नगरी प्रयोग गरिएकोलगायत समस्या रहेका उनले जानकारी दिनुभयो ।
कामपाले खाद्य स्वच्छता प्रवर्द्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छताः प्रवर्धन शिविर (फुड सेफ्टी, वुट क्याम्प) कार्यक्रमसमेत सञ्चालन गरिरहेको विभागले जनाएको छ ।