काठमाडौं महानगरपालिकाले नेकपा (एमाले)लाई एक लाख रुपैयाँ जरिवाना गराएको छ । शुक्रबार दरबारमार्गमा जागरणसभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरेको हो । फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको महानगरले शुक्रबार एमालेलाई पठाएको पत्रमा उल्लेख छ ।
यसैबीच नेकपा एमालेका महासचिव शंकर पोख्रेललले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एमालेविरुद्ध परिचालित भएको आरोप लगाएका छन् । हिजो दरबारमार्गमा एमालेले आयोजना गरेको सभामा फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख जरिवाना गरेपछि महासचिव पोख्रेलले यस्तो प्रतिक्रिया दिनुभएको हो ।
आयोजकले नै सफा गरिसकेको अवस्थामा पनि जरिवानाको पर्चा पठाउनुले नै मेयर बालेन एमालेविरुद्ध परिचालन भएको बुझ्न सकिने उहाँको दाबी छ । महानगरले जरिवाना पर्चा सार्वजनिक गरेको समयमा स्वयंमसेवकहरु कार्यक्रमस्थलमै फोहर संकलन गरेर गाडीमा राखिरहेको, मञ्च र मञ्चमा प्रयोग गरिएका सामग्री हटाउने काम भइरहेको उहाँले बताउनुभयो ।