खोला किनारको २० मिटर मापदण्डको फैसलामा सर्वोच्चले पुनरावलोकन गर्ने

मुख्य खबर NFM संवाददाता शुक्रबार मंसिर ७, २०८१

काठमाण्डौ उपत्यकाको खोला किनारको थप २० मिटरको मापदण्ड विवादसम्बन्धी सर्वोच्च अदालतमा पुनः सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू कुमार चुडाल र नित्यानन्द पाण्डेको पूर्ण इजलासले फैसलाविरुद्ध सरकारले दर्ता गराएको पुनरावलोकन निवेदनमा अनुमति दिएपछि पुनः सुनुवाइ हुने भएको हो ।

सर्वोच्चका दुई न्यायाधीशले यसअघि फैसला सुनाएकाले अब तीन न्यायाधीश वा त्यस भन्दा माथिको इजलासले यसमा बहस सुनेर फैसला सुनाउनेछ । यसअघि, न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले २०८० पुस ३ गते गरेको फैसलामा खोला किनारबाट २० मिटर छोड्नुपर्ने मापदण्ड कायम गर्नुपर्ने उल्लेख थियो ।

सर्वोच्चले नदी किनारका सरकारी जग्गा अतिक्रमण गरी बनाइएका बस्ती हटाउन र संरक्षण समेत गर्न भनेको थियो । सर्वोच्चले यो फैसला सुनाए लगत्तै मापदण्डभित्र पर्ने जग्गाको बिक्री वितरण र धितोसमेत रोक्का हुन थालेको थियो ।

अदालतको आदेशका कारण सरकारको पनि आलोचना हुन थालेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमार्फत पूनरावलोकन निवेदन दर्ता गराएको थियो ।

Leave a Comment