सरकारविरुद्ध विपक्षी दलहरू सडक संघर्षमा

मुख्य खबर NFM संवाददाता बिहिबार मंसिर ६, २०८१

केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारविरुद्ध प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरू सडक संघर्षमा ओर्लिएका छन् । गत असार १७ गते दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको ७ बुँदे सहमतिको जगमा ओली नेतृत्वको सरकार बनेको हो । प्रतिनिधि सभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले नै सरकारमा सामेल भएको अवस्थामा विपक्षी दलहरूको आकार तुलनात्मकम रूपमा निकै सानो छ ।

यद्यपि, विपक्षी दलहरूले सरकारलाई विभिन्न मुद्दामा निसाना बनाउँदै आएका छन् । विपक्षीहरूले सरकारको कडा आलोचना गरिरहेको समयमा सत्ता पक्ष, त्यसमा पनि सरकारकै नेतृत्व गरिरहेको दल नेकपा एमाले स्वयं शक्ति प्रदर्शन गर्ने अवस्थामा पुगेको छ ।

एमालेले ७ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्ने भएको हो । सरकारविरूद्ध फैलाएको अफवाह तथा अराजकतालाई चिर्न जागरण सभा गर्न लागिएको एमाले महासचिव शंकर पोखरेलले बताउनु भएको छ । तर शान्ति सुरक्षा, जनताका माग पूरा गर्ने ठाउँमा बसेको सत्तापक्ष नै शक्ति प्रदर्शनमा उत्रिनु राम्रो नभएको राजनीतिक विश्लेषकहरू बताउँछन् । प्रमुख प्रतिपक्ष दल माओवादीले आफ्नो नेतृत्वको तत्कालीन सरकारले खोलेका भ्रष्टाचारको फाइल बन्द गर्न, जनयुद्ध, जनआन्दोलनबाट प्राप्त उपलब्धि समाप्त गरी प्रतिगमनतर्फ जान सरकार उद्यत रहेको आरोप लगाउँदै आएको छ ।

यसैविच, सत्तासीन एमालेले प्रायोजित अराजकता चिर्न राजधानीमा जागरणसभा गर्न लागेको स्पष्ट गरेको छ । एमालेले मंसिर ७ (शुक्रबार) गते सभा गर्दै छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सभाको सम्बोधन गर्ने छन ्। पत्रकार सम्मेलनमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रायोजित अराजकता चिर्नका लागि जागरण सभा गर्न लागेको बताउनुभयो । उपमहासचिव ज्ञवालीले अराजकता र लोकतन्त्र सँगसँगै जान नसक्ने स्पष्ट पार्नुभयो । दरबारमार्गमा हुने जागरण सभामा एक लाख मानिस सहभागी हुने दाबी गरिरएको छ । बागमती प्रदेशअन्तर्गतका वडा तहसम्म  अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको छ ।

Leave a Comment