पूर्वसभामुख स्व.दमननाथ ढुंगानाको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने भएको छ। साथै सरकारले सोमबार सार्वजनिक बिदा दिने समेत निर्णय गरेको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने र सोमबार सार्वजनिक बिदा दिने निर्णय हो । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार शोकमा आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।
ढुंगाना लामो समयदेखि कलेजो र मिर्गौला रोगको समस्याबाट पीडित थिए। आइतबार दिउँसो ८३ वर्षको उमेरमा उपचारको क्रममा उनको निधन भएको थियो । उँहाको पार्थिव शरीर सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि सानो गौचरनमा राख्ने परिवारले जनाएको छ ।
अन्त्येष्टिअघि सानो गौचरनमा बिहान साढे ११ बजे हुने श्रद्धाञ्जलीसभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन् ।
कानूनविद् ढुंगाना २०४८ देखि २०५१ सम्म प्रतिनिधिसभाको सभामुख रहेका थिए ।
उँहाका श्रीमती, दुई छोरा र एक छोरी छन् ।