पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

Breaking आइतवार मंसिर २, २०८१

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । ८३ वर्षीय ढुंगानाको उपचारका क्रममा आज दिउँसो पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा निधन भएको हो । एक महिनादेखि उहाँको कलेजोको उपचार चलिरहेको थियो ।

वरिष्ठ अधिवक्तासमेत रहनुभएका ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख हुनुहुन्थ्यो । उहाँलाई संविधानविद् तथा लोकतान्त्रिक राजनीतिका अभियन्ताका रूपमा चिनिन्छ ।

उहाँले २०४८ सालको आमचुनावमा काठमाण्डौ क्षेत्र नम्बर २ बाट जितेपछि सभामुख हुनुभएको थियो । ढुंगानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेल्नुभएको थियो ।

२०७४ सालको आमचुनावमा भक्तपुर क्षेत्र नम्बर २ बाट कांग्रेसको उम्मेदवार भएर ढुंगाना पराजित हुनुभएको थियो । ढुङ्गानाको भोलि अन्त्येष्टि हुने परिवारले जनाएको छ ।

ढुंगानाको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपि शर्मा ओली, विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड लगाएतले दुख व्यक्त गर्नुभएको छ ।

Leave a Comment