काठमाडौं : विपद्का घटनाले पछिल्लो सात महिनामा नेपालमा ६४७ जनाको ज्यान लिएको छ । बाढी, पहिरो, चट्याङ, आगलागी लगायतका विपद्का घटनाले उनीहरूको ज्यान लिएको हो ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार २०८१ वैशाख १ देखि कात्तिक ३० गते दिउँसोसम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो ।
केन्द्रको तथ्यांकअनुसार उक्त अवधिमा पाँच हजार ५३९ वटा विपद्का घटना रेकर्ड भएका थिए । ती घटनामा परी ६ सय ४७ जनाको मत्यृ भएको थियो भने एक हजार १ सय ११ जना घाइते भएका थिए ।
यसवर्ष विपद्का घटनामा परी अझै ६६ जना बेपत्ता छन् । विपद्का घटनाले बितेको सात महिनामा ५० अर्बभन्दा बढीको आर्थिक क्षति गरेको छ ।
२०८१ वैशाखदेखि कात्तिकसम्मको अवधिमा विपद्का घटनाले तीन हजार ४ सय १० घर पूर्णक्षति र सात हजार २ सय ४४ घरमा आंशिक क्षति गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा अर्थात् २०८० वैशाख १ देखि कात्तिक ३० गतेसम्म सात महिनाको अवधिमा विपद्का घटनामा परी नेपालमा ३ सय ७९ जनाको मृत्यु भएको थियो । उक्त अवधिमा रेकर्ड गरिएका तीन हजार ४ सय ७६ विपद्का घटनामा परी एक हजार १ सय ४८ जना घाइते र ३१ जना बेपत्ता भएका थिए ।