अर्थ मन्त्रालयले धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि तीनलाई अन्तरवार्तामा बोलाइएको छ ।
सर्ट लिस्टमा परेका नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई मङ्सिर ९ गते बिहान ८ बजे अन्तरवार्ताका लागि बोलाएको हो ।
यसअघि असोज १८ गते अन्तरवार्तामा बोलाइए पनि अन्तिम समयमा स्थगित भएको थियो। अर्थ मन्त्रालयले विशेष कारणवश अन्तवार्ता रोक्नुपरेको जानकारी दिएको थियो ।
यसअघि अध्यक्षको नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न अर्को सिफारिस समिति बनाएको थियो ।
छनोटको सूचीमा परेका उम्मेदवार सन्तोष नारायण श्रेष्ठले नयाँ प्रक्रिया सुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका थिए।
त्यसपछि अदालतले नयाँ प्रक्रिया सुरु नगर्न आन्तरिक आदेश दिएको थियो । अदालतको आदेशपछि पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्तिको बाटो खुलेपछि सरकारले फेरि तीन उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको हो। ११ महिनादेखि धितोपत्र बोर्ड अध्यक्षविहीन छ।