नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट विद्युत् आपूर्ति लिएका उद्योगहरूले बक्यौता महसुल १५ दिनभित्र नबुझाए फेरि लाइन काट्ने भन्दै आज एक सूचना प्रकाशित गरेर जानकारी गराएको छ । मन्त्रिपरिषद्को मिति २०६१–०७–२५ को बैठक र नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको मिति २०६१–०७–२७ को ९८७ औं बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएकोले सोही अनुसार भुक्तानी गर्न प्राधिकरणले आग्रह गरेको छ । ’वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टीओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी वान, टी टु र टी थ्री टाइम इन्टर्भलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल प्राप्त गर्नु भएकै होला । अतः उक्त बिल अनुसारको बक्यौता महसुल १५ दिन (अर्थात् २०८१ मङ्सिर १२ गते) भित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउनुहुन अनुरोध गरिन्छ । तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार भइजाने ब्यहोरा समेत जानकारी गराइन्छ’ सूचनामा भनिएको छ ।