नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिएको छ । हिजो राति अधिकांश उद्योगहरुमा लाइन जोडिएको हो । डेडिकेटेड र ट्रंकलाइन बाफतको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुको लाइन काटिदिएको थियो । गत आइतबारको मन्त्रिपरिषद बैठकले उद्योगहरुमा काटिएका लाइन जोड्ने र १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरेको थियो । त्यसपछि मंगलबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषद बैठकको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा काटिएको लाइन जोड्न क्षेत्रीय कार्यालयहरुलाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार मंगलबार राति अधिकांश उद्योगहरुमा लाइन जोडिएको नेपाल विद्युत् प्राधिकरण स्रोतले जनाएको छ । यसैबीच बक्यौता नउठाइ बिजुलीको लाइन जोड्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता खडानन्द कँडेलले मन्त्रिपरिषद् कार्यालय, ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई विपक्षी बनाएर मंगलबार सर्वाेच्चमा रिट दर्ता गरेका हुन । रिटको पेसी बुधबारका लागि तोकिएको छ ।