जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा सहभागी हुने सिलसिलामा बाकुमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालका तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्दै हुनुहुन्छ । ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयमा हुने सत्रमा नेपालले आफ्ना ‘एजेण्डा’माथि विश्व समुदायको ध्यानाकर्षण गराउनेछ । कोप शिखर सम्मेलनमा हिजो नेपालका तर्फबाट राष्ट्रिय मन्तव्य व्यक्त गर्दै राष्ट्रपति पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने वास्तविकता मनन गर्न विश्व समुदायलाई आह्वान गर्नुभएको थियो । राष्ट्रपति पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा सबैले मनन गर्न र पर्वतीय मुलुकका सेता हिमाल,काला पहाडमा परिणत हुने क्रमले ती मुलुकमा मात्र नभइ तल्लो तटीय मुलुकहरूलाई सङ्कटमा पुर्याउँछ भन्ने वास्तविकता विश्वले बिर्सन नहुने बताउनुभयो । माल्दिभ्सका राष्ट्रपति डा मोहम्मद मैज्जुसँग हिजो भएको भेटवार्तामा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको मारमा नेपाल र माल्दिभ्सजस्ता देश परेकाले जलवायु वार्ताहरूमा सहकार्य गर्नुपर्ने बताउनुभयो ।