लुम्बिनी प्रदेशमा विभिन्न विपदबाट पाँच करोड ५० लाख रुपैयाँभन्दा बढी क्षति भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी गङ्गाधर पाण्डेयका अनुसार विपद्का कारण चालु आर्थिक वर्षको कात्तिकसम्म पाँच करोड ५८ लाख ५२ हजार बराबरको क्षति भएको हो ।
सबैभन्दा बढी रोल्पामा एक करोड ७१ लाख ४९ हजार र सबैभन्दा कम रुकुमपूर्व र गुल्मीमा शून्य क्षति भएको उनले जानकारी दिनु भयो । लुम्बिनीमा ४५२ घटना भएकामा ११४ जनाको मृत्यु भएको छ भने २२९ घाइते भएका छन् ।
विपदबाट १० जना बेपत्ता भएका छन् भने ११५ संरचना पूर्ण रूपमा क्षति भएका सूचना अधिकारी पाण्डेयले बताउनु भयो । उँहाका अनुसार ३२३ संरचनामा आंशिक क्षति भएको छ। लुम्बिनीमा बाढी, पहिरो, डुबानबाट उक्त क्षति भएको हो ।
पहाडी क्षेत्रमा पहिरो तथा तराईमा बाढी र डुबानले बढी क्षति भएको पाण्डेयले जानकारी दिनु भयो ।