मानव तस्करीको आरोप लागेका कोशीका निवर्तमान मन्त्री अधिकारी पक्राउ

Breaking आइतवार कार्तिक २५, २०८१

मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

अदालतबाट पक्राउको अनुमति पाएपछि अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । अधिकारीलाई हवाइजहाज मार्फत् काठमाण्डौ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

संगठित गिरोहमार्फत अवैध तरिकाले जापान जानुभएका अधिकारीलाई त्यहाँको अध्यागमनले ४८ घण्टासम्म विमानस्थलमै राखेर नेपाल फिर्ता पठाइदिएको थियो । मन्त्रालयको नक्कली परिचयपत्र लगायतका कागजातका आधारमा अधिकारीसहित अरू तीन जना पनि दलाललाई पैसा तिरेर जापान गएकोमा फिर्ता भएका थिए ।

अधिकारीले मुख्यमन्त्री हिक्मत कार्कीलाई समेत जानकारी नदिइ जापान जानुभएको थियो । यो प्रकरणमा अन्य तीन जना पनि पक्राउ परेका छन् । पक्राउ परेकाहरुले लाखौँ रकम बुझाएको बयान दिएका छन् ।

कोशी प्रदेश सरकारको तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका अधिकारीले मन्त्री पदबाट राजीनामा दिइसक्नुभएको छ । तर अधिकारीमाथि छानविन नभएको भन्दै चौतर्फी आलोचना भएपछि हिजो शनिवार मात्रै पार्टीले अधिकारीलाई सदस्यबाट निलम्बन गरेको छ ।

 

Leave a Comment