विस्तारै चिसो बढेको बिहान, झिसमिसे एकाबिहानै सुनसान सडक । काठमाडौंको नारायणहिटी अगाडीको सडक बुधबार बिहान एकाएक कागमय भयो । हुन त आज काग तिहार पनि हो । तर काग तिहार पर्दैमा हजारौँ काग जम्मा हुन केहि न केहि हुनै पर्छ । कलाकार रमेश दुलालले बोलाएपछि हजारौँ काग आएका हुन् ।
आजभन्दा २० वर्ष अगाडि धनगढिबाट कागको भाषा बोल्न थाल्नुभएका दुलालले त्यसयता निरन्तर काग सम्मेलन गर्दै आउनुभएको छ । कागको आफ्नै भाषा हुने र भाषा बुझ्नपर्ने दुलालको भनाई छ ।
ईलाममा जन्मिनुभएका दुलालले हरेक वर्षको काग तिहारमा काग सम्मेलन गर्दै आउनुभएको छ । १७३ भन्दा धेरै जिवजन्तुको दुरुस्त आवाज निकाल्ने क्षमता भएका दुलालले विगत वर्षहरुमा भन्दा आज धेरै काग आएको दावी गर्नुभयो । यस्तै आजसाँझ हुँदै गरेको साफ महिला फुटबल च्याम्पियनसिपमा नेपाली टोलीको जितको कामनाका साथ काग सम्मेलन गरिएको उल्लेख गर्नुभयो ।
सत्ययुगमा अमृतपान गरेका हुनाले काग अजम्बरी चरा मानिन्छ । त्यो बेलामा देवता वर्गले एकअर्कासँग सञ्चार गर्न कागकै प्रयोग गर्ने गरेको किंवदन्ती छ । मानवको विकाससँगै धर्तीमा विचरण गरेको प्राणी पनि काग हो भन्ने लोकोक्ति छ । घर नजिक बसे पनि वनमा बसे पनि काग मानिसको साथी भएको चराविद्हरु बताउँछन् ।