शिवप्रसाद जैशीको कथासंग्रह ‘घटको रैबार’ विमोचन, सुदूरपश्चिमको संस्कृति झल्कने कथा

समाज NFM संवाददाता संजिता धामी बुधबार कार्तिक १४, २०८१

काठमाडौं । नेपाली साहित्यको नवीन स्वरूप प्रस्तुत गर्ने लक्ष्यसहित कथाकार शिवप्रसाद जैशीद्वारा लिखित कथासंग्रह ‘घटको रैबार’को विमोचन गरिएको छ । सोमबार अनामनगरस्थित नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानमा आयोजित एक विशेष समारोहमा समालोचक प्रा.डा. दयाराम श्रेष्ठ ‘सम्भव’ले पुस्तकको लोकार्पण गर्दै, जैशीका कथाहरूमा नयाँपन झल्किएको बताए ।

कार्यक्रममा बोल्दै प्रा.डा.श्रेष्ठले हजारौं कथा पढिसकेको भए पनि ‘घटको रैबार’ले बेग्लै खालको अनुभूति दिएको बताए। उनले भने, “कथाको आफ्नै शैली हुन्छ, तर यसमा सुदूरपश्चिमको अछामको भाषा, संस्कृति र परिवेशलाई जस्ताको तस्तै उतारिएको छ, जसले पाठकलाई त्यस क्षेत्रमा पुर्याउँछ।”

कार्यक्रमका अन्य प्रमुख अतिथिहरू पूर्वमन्त्री एवं नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, गीतकार शंकर कोइराला, र सांसद शेरबहादुर कुंवरले जैशीको योगदानको प्रसंशा गरे ।

साहित्यकार नरनाथ लुइँटेल, पूर्ण रावल, प्रल्हाद पोखरेल, र भुँडीपुराणका केशव पराजुलीले पनि पुस्तकबारे आफ्ना धारणा प्रस्तुत गर्दै लेखकको गहिरो सृजनात्मक दृष्टिकोणको प्रशंसा गरे।

लेखक जैशीले बाल्यकालदेखि नै समाजमा देखिएका विविध घटनाले आफूलाई कथातिर आकर्षित गरेको अनुभव सुनाए । आफ्नो अनुभवको संग्रहका रूपमा तयार पारिएको ‘घटको रैबार’मा २२ कथा समेटिएका छन्, जसले नेपाली समाजको बहुरंगी छविलाई झल्काउने उनको भनाइ थियो।

पुस्तकको मूल्य रु. ५०० राखिएको छ भने यसलाई एक सशक्त कथासंग्रहका रूपमा नेपाली साहित्यमा महत्वपूर्ण योगदान हुने अपेक्षा गरिएको छ।

Leave a Comment