एनआरएनएले आजदेखि काठमाडौंमा ग्लोबल सम्मेलन गदै

मुख्य खबर NFM संवाददाता आइतवार कार्तिक ११, २०८१

‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौँमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बद्री केसी पक्षले ‘ग्लोबल’ सम्मेलन आयोजना गर्दै छ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । साधारणसभामा सहभागी हुन विभिन्न देशबाट प्रतिनिधि काठमाडौँ आइसकेको र सोका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको महासचिव गौरीराज जोशीले जानकारी दिनुभयो । कार्यक्रमको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पिएनआ), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरणसम्बन्धी विषयमा छलफल हुनेछ । दोस्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा तथा नेपाल पर्यटन प्रवर्द्धन नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको  भूमिकालगायत सत्रहरू रहनेछन् । अहिले एनआरएनएकै अर्को समूहले भने परराष्ट्रले एकताको महाधिवेशनका लागि पूर्वअध्यक्ष शेष घलेलाई पत्र पठाइसकेको अवस्थामा केसी पक्षले साधारण सभा गर्न लागेको भन्दै विरोध गरेको छ । एनआरएनएमा विगत केही समययता विवाद चर्किँदै गएपनि समाधान हुन सकेको छैन ।

Leave a Comment