नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा सरकारविरुद्ध खबरदारी सभा गर्दैछ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन खबरदारी सभा गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न खबरदारीसभा गरिएको जनाएको छ । त्यस्तै सामाजिक न्यायका मुद्दाहरुप्रति सरकारको गम्भीर ध्यानार्षण गराउन, सुशासन, सामाजिक न्याय र आर्थिक विकास तथा समृद्धिको पक्षमा अभिमत प्रकट गर्न, नेपाल विद्युत प्राधिकरणलगायत सार्वजनिक संस्थाहरु, विश्वविद्यालयसहित शिक्षण संस्थाहरु र कर्मचारीतन्त्रमा गरिएको चरण राजनीतिकरण र हस्तक्षेपको प्रतिवाद गर्न र बढ्दो बजारभाउ र कालाबजारी नियन्त्रणका लागि पहल गर्न खबरदारी गरिने माओवादीको भनाइ छ । भृकुटीमण्डपमा आयोजना हुने सभाअघि काठमाडौं मलबाट जुलुस निकालिने माओवादीले जनाएको छ । ११ बजेपछि त्यहाँबाट सुरु हुने जुलुसको नेतृत्व अध्यक्ष प्रचण्डले गर्नेछन् ।प्रदर्शन र सभा रचनात्मक र शान्तिपूर्ण रुपमा सम्पन्न गरिने माओवादीले जनाएको छ ।
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै
