डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने उद्योगको लाइन नेपाल विद्युत् प्राधिकरणले काटेको छ । हिजो बेलुकी ८ बजेदेखि उद्योगहरूको लाइन काट्न थालेको हो । प्राधिकरणले गएको असोज अन्तिममा ४९ वटा उद्योगको सूची सार्वजनिक गर्दै कात्तिक ८ गते भित्र डेडिकेटेड तथा ट्रंकलाइनवापतको बक्यौता बुझाउने म्याद दिएको थियो । उद्योगीले बक्यौता नबुझाएपछि लाइन काट्न थालिएको प्राधिकारणले जनाएको छ । घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, सोनापुर सिमेन्ट, कसमस सिमेन्ट, घराना फुड्स, एसआर फुड्स, श्याम प्लास्टिक, गोयन्का फुड्स, भलवारी चामल उद्योग र बाबा जुट मिललगायतको लाइन काटिएको छ । हिजो बिहान प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री दीपक खड्काले लाइन काट्न नहुने बताउनुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अहिले उद्योगीलाई चिढ्याउन नहुने धारणा राख्नुभएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार साँझ उर्जामन्त्री खड्कालाई भेटेर लाइन नकाट्ने हो भने मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने बताउनुभएको थियो । मन्त्रिपरिषद् बैठकमा कुनै निर्णय नभएका कारण उहाँले लाइन काट्न शुरु गरेका हुन् ।
विद्युत प्राधिकरणले उद्योगको बिजुली काट्यो
