राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा समितिको कार्यविधि सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। संसद अधिवेशन अन्त्य भएदेखि संसदीय समिति खासै सक्रिय नभएका बेला सभामुख देवराज घिमिरेले विचाराधीन विधेयकमाथिको छलफल सकेर संसदमा पठाउन निर्देशन दिनु भएको छ । संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर सभामुख घिमिरेले पुराना र नयाँ सबै विधेयकलाई पारित गरेर संसदमा पठाउन भनेका हुन् । अहिले प्रतिनिधिसभा र राष्ट्रियसभा अन्तर्गतका समितिमा १९ वटा विधेयक विचाराधीन अवस्थामा छन् ।