संसारमा निस्वार्थ, निष्पक्ष र इमानदार रुपमा माया गरिरहने व्यक्ति आमा मात्रै हुन् । आमाले सधैंभरि आफु जस्तोसुकै दुख, वेदना र व्यथा सहेर पनि आफ्नो सन्तानलाई उत्कृष्ट सेवा सुविधा, उचित वातावरण, स्याहारसुसार, सुरक्षा हरपल दिलाउन खोज्ने गर्छिन् । आमा शब्द मानवमा मात्रै नभई जिवजन्तु, पशुपन्छिमा समेत प्रिय छ ।
आमा जिवनको ज्योति, करुणाको खानी, मायाको सागर हो । आमा जिबित भगवान् को स्वरुप हो । भगवान् सबै ठाउँमा हरेक पल पुग्न नसक्ने हुनाले नै आमाको सृष्टि गरेको होला । शब्द फरक छन् भावना एउटै छ, आमा र भगवान्को महत्त्व एउटै छ । अपवाद बाहेकका आमा संसारको लागि एक व्यक्ति हुन् तर सन्तानका लागि आमा सिंगै संसार हुन् ।
सन्तानको लागि आमा संसारकै सबैभन्दा राम्री, असल र सबै गुण सम्पन्न हुन्छिन् । आमाले आफ्नो सन्तानलाई यति माया, प्रेम, स्याहारसुसार गर्छन् कि भन्ने शब्द नै छैन । आफुलाई भन्दा धेरै माया गर्ने, आफैँलाई बिर्सिएर माया गर्ने व्यक्ति नै आमा हुन् ।
हरेक आमाले आफ्नो सन्तान सबै कुरामा सक्षम, सवल र ठुलो भए पनि जुनसुकै उमेरमा पनि आमाको माया निरन्तर उस्तै हुन्छ, रहन्छ । शिक्षा असफल हुन सक्छ तर आमाले आफ्नो सन्तानलाई दिएको सत्कर्म र संस्कार कहिले पनि असफल हुनै सक्दैन । आफ्नो सन्तानको प्रगति, उन्नति देखेर आमा धेरै खुसि र सुखि हुन्छिन् । तर पुर्ण अशक्त अपाङ्गता भएका व्यक्तिको आमा प्रायःजसो सधैंभरि उस्तै दुख, पिडा, चिन्तामा हुन्छिन् । म जस्ता पुर्ण अशक्त अपाङ्गता भएका सन्तानले मात्रै आमालाई गर्र्भमा रहे देखि नमरे सम्म उस्तै दुख निरन्तर दिन्छन् । पुर्ण अशक्त अपाङ्गता भएको व्यक्ति आफुले धेरै कष्टकर जीवन बाँचेका हुन्छन् र त्यो भन्दा बढि आमालाई पीडा हुन्छ । हरेक कुरामा दोष आमाको कोखलाई दिईन्छ । परिवार, समाज, राष्ट्रबाटै गरिएको दुव्र्र्यवहारले आमालाई धेरै पीडा दिएको छ ।
उनिहरुलाई हरेक किसिमको स्याहारसुसार, हरेक रोगको सङ्क्रमण, सदावहार बच्चा जस्तै खालको हेरचाहको आवश्यकता हुन्छ । आमाले थकाइ, बिरामी, भोक, निन्द्रा कहिले पनि प्रवाह गर्न समेत पाउँदैनन् । सधैं आफ्नो सन्तानका लागि जवान, बलियो बन्नुपर्छ । कहिलेकाँही आमा बिरामी, कमजोर, अशक्त हुँदा फेरि सबैभन्दा बढि पुर्ण अशक्त अपाङ्ग भएका व्यक्तिहरुलाई धेरै गा¥हो हुनेरहेछ । पुर्ण अशक्त अपाङ्गता भएका व्यक्तिको परिवारको नै जीवनस्तर र गुणस्तर नै खस्किएको हुन्छ । पुरै परिवार नै शारीरिक, आर्थिक, सामाजिक र मानसिक दुख पिडाको खाडलमा पर्छन् । सबै परिवारले नै समस्याको सामना गर्नुपर्छ ।
अरुको सगैँका बच्चा (एउटै उमेर समुहका) को वृद्धि बिकास, उन्नति, प्रगति हेर्दा पुर्ण अशक्त अपाङ्गता भएका व्यक्तिका आमा सधैंभरि दुखि हुन्छिन् । हामी पुर्ण अशक्त अपाङ्ग भएका व्यक्तिहरुमा प्रायःजसो को उमेर बढेसगै शारीरिक अवस्था कमजोर हुँदै जान्छ, (उमेर बढ्छ, बच्चापन जस्तै हुन्छ, शारीरिक अवस्था घट्छ) । कतिपयलाई त केही जानकारी नहुनु, हरेक कुरा (आफ्नो शरीरको) चेतना नहुनु जस्ता समस्या पनि हुन्छ । आमा सधैंभरि सन्तानको हरेक किसिमको चिन्तामा रहन्छिन् ।
पुर्ण अशक्त अपाङ्गता भएका सन्तानलाई हरेक प्रकारका हिंसा हुने सम्भावना रहन्छ, त्यसकारण सधैंभरि आमा चनाखो हुनुपर्छ । आमा घर बाहिर केही समयको लागि घाँस, दाउरा, मेलापात जानू परेमा कोठामा राखि बाहिरबाट ढोका लगाई थुनेर वा कहिलेकाही घण्टाँँै बाहिर जाने काम परेमा मलाई भित्र नै राखि ताल्चा लगाएर जानुहुन्छ । यो सबै मेरो सुरक्षाको लागि हो । सबै कुरा (भोक, तिर्खा, दिशा, पिसाब, सरसफाइ, मनको चाहाना आदि) बुझ्न सक्ने र केही कुरा नबोलेरै पनि सबै बुझिदिने अनकुलता मिलाई समयमै गरिदिने व्यक्ति आमा नै हुन् । परिवारमा सबै सदस्यले सहयोग गरे पनि आमाले जस्तै हुँदैन र जान्दैनन् पनि । मनमा त कति इच्छा, चाहाना, दुख लुकाएर देखावटी मुस्कान यो परिवार र समाजलाई देखाउँछिन् । हरेक प्रकारको विभेदको सामना आमाले नै गर्नुपर्छ । आमाले आफु नखाएर पनि हामीलाई खुवाउँछिन्, जस्तोसुकै पीडा दुखमा पनि सहयोग गर्ने गर्छिन् । आमाको अनुहारमा कहिले पनि थकान र ममतामा मिसावट हुँदैन ।
आमालाई तिर्थब्रत, मेलापात, सामाजिक, धार्मिक कार्यक्रममा सहभागी हुन जादा पनि सन्तानको बारेमा सोधेर नराम्रो कुरा नगरे पनि हुन्थ्यो लाग्छ रे । यदि उक्त सन्तान साथै लाँदा पनि नराम्रो सोच्ने, घृणा गर्ने, आमाको कोखलाई समेत दोष लाईन्छ । समाजबाट नै अपहेलित हुनुपर्दछ सोहि कारणले सामाजिक कार्यमा बिरलै सहभागी हुन्छन् । समाजको अनेकौं लान्छनाले आमालाई सधैंभरि पिडित, चिन्तित बनाउछ । पुर्ण अशक्त अपाङ्गता भएको सन्तान भएको आमाको खुसी हराउँछ । घर छोडेर माईत, मावला, आफन्तकोमा समेत जान पाउँदिनन् ।
यदि गइहाले पनि एकैछिनमा फर्किन्छिन् । सन्तानको मायाले हरेक पल बाहिर हुदा घरमा नै ध्यान हुन्छ रे । भोक, तिर्खा, दिशा, पिसाब लाग्यो कि, न लडेर घाइते भई कि भन्ने डर मनमा रहिरहन्छ आमालाई । आमाले कहिले पनि एक सुरमा ध्यान दिएर आफ्नो कुनै पनि काम गर्न पाउँदैनन् । आमाहरुको लागि पुर्ण अशक्त अपाङ्ग सन्तान अभिषाप नै हो ।
सबै थाहा छ उनको पीडा तर के गरुँ, हेर्न र महशुस गरि मनमनै चिन्तित हुनुको बिकल्प पनि त छैन । यदि आमाको ठाउँमा अरु कोहि भए आमाले जस्तै पुर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरुको निरन्तर स्याहारसुसार, निस्वार्थ माया गर्थे होला र ।
आमा हुनाले मात्रै आज सम्म हामी जिवितै छौँ । आफू दुखको सागरमा ढुबेर पनि हामीलाई ओभानो बनाउने व्यक्ति आमा मात्रै हुन् । सधैंभरि सन्तानको लागि राम्रो सोच्ने, सन्तानको उज्यालो संसारको कामना गर्दै आफू सधैंभरि अँध्यारोमा रहन सक्ने व्यक्ति जिवित भगवान् आमा नै हुन् ।
सबै मेरो अनुभव, भोगाई मात्रै भन्दै छु, बाहिरी कुरा मलाई केही जानकारी छैन । मेरो लेखाईमा कमि कमजोरी भएमा माफि चाहान्छु ।
-सुजाता गौतम (पुर्ण अशक्त अपाङ्गता भएको व्यक्ति)
मकवानपुरगढी गाउँपालिका –२, मकवानपुर ।