त्रिविले आगामी वर्षदेखि अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न सोध्ने

मुख्य खबर NFM संवाददाता सोमवार कार्तिक ५, २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र तयार गर्ने भएको छ । वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्न पत्रहरू अङ्ग्रेजी र नेपाली दुवै भाषामा तयार गर्ने त्रिविकी सहकूलपति तथा शिक्षामन्त्री विद्या भट्टराईले बताउनुभयो । अब हुने प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गर्ने त्रिविको तयारी छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको २०८० साल चैत्र १५ गत बसेको बैठकले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नोत्तर तयार गर्ने निर्णय गरेको थियो । उक्त निर्णय आगामी वर्षको परीक्षादेखि नै अनिवार्य रूपमा लागू गर्न लागेको हो । उक्त व्यवस्था क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागु गरिने त्रिविले जनाएको छ । त्यसबारे त्रिविले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई जानकारी पनि गराइसकेको छ । मन्त्रालयलाई एक पत्र लेख्दै त्रिविले पहिलो चरणमा हाललाई शिक्षा शास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र कानुन सङ्कायको स्नातक तहको परीक्षामा सोधिने प्रश्नहरू नेपाली र अङ्ग्रेजी दुवै भाषामा सोध्ने प्रबन्ध मिलाइने जनाएको हो । त्रिविले हाल अङ्ग्रेजी भाषामा मात्रै प्रश्न पत्र निर्माण गर्दै आएको छ ।

Leave a Comment