काठमाडौं : पोखरामा रास्वपाको आन्दोलनबाट हुनसक्न सम्भावित जोखिम रोक्नका लागि सुरक्षा तैनाथी बढाइएको छ। त्यहाँ प्रदर्शन निषेधित क्षेत्र घोषणा गरिएको छ। राष्ट्र बैंक चोकदेखि शहीद चोक, कास्की जिल्ला अदालतसम्म बाक्लो संख्यामा सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ। सहकारी पीडितहरूले पनि राष्ट्रबैंक चोकमा प्रदर्शनका लागि उपस्थित हुन भनेका छन् । यसैबीच पार्टी सभापति पक्राउ परेपछि देशभर विरोध प्रदर्शनमा उत्रिएको रास्वपाले आज पनि प्रदर्शन जारी राख्ने भएको छ। रास्वपाले अरू जिल्लाबाट पनि कार्यकर्ता पोखरा बेलाएको बताइएको छ।
सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा पेस गरिँदै छ। शुक्रबार काठमाडौंमा पक्राउ गरी राति नै कास्की प्रहरीको हिरासतमा लगिएका लामिछानेलाई आज म्याद थप गर्न अदालतमा पेश गरिन लागेको हो । करिब एक सय मिटरको दूरीमा रहेका राष्ट्रबैंक र शहिदचोकमा रास्वपा कार्यकर्ता र सहकारी पीडित आमने–सामने हुनसक्ने जोखिम बढेको छ । लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्ने तयारी प्रहरीको छ। पोखराको सूर्यदर्शन सहितका सहकारीको साढे ६५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरी गोर्खा मिडियामा लगेको आरोपमा तत्कालीन प्रवन्ध निर्देशक लामिछानेलाई पक्राउ गरिएको हो।