असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गमा मङ्गलबारदेखि पहिलेको जस्तै निर्बाध यात्रुवाहक सवारीसाधन सञ्चालनमा आएको छ । यो राजमार्गमा ‘रुट’ अनुमति लिएका यात्रुवाहक सवारीसाधन सञ्चालनमा आएकोे सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । डिभिजन कार्यालयका प्रमुख योगेश सुमनले बाढीपहिरोले क्षतिग्रस्त भएको ठाउँमा ट्र्याक निर्माण गरी साना गाडीका लागि मात्र आवागमन खुलाइएकोमा मङ्गलबारदेखि ठुला यात्रुवाहक सवारीसाधनसमेत सञ्चालन गर्न दिएको जानकारी दिनुभयो । त्यसै गरी चौकीडाँडा र माम्ती खोलानजिकको डाइभर्सनमा सुधार गरिएको छ । बाढीपहिरो गएको ठाउँमा अहिले पनि सुक्खा पहिरोको सम्भावना रहेकाले रातको समयमा भने सवारीसाधन नचलाउन सम्बन्धित यातायात व्यवसायीलाई आग्रह गरिएको डिभिजन प्रमुख सुमनले जानकारी दिनुभयो । राजमार्गमा यातायात सञ्चालन भए पनि यात्रा जोखिमपूर्ण र कष्टकर नै छ । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण असोज १२ गते बिहानदेखि मध्य तथा पूर्वी तराईका जिल्ला जोड्ने छोटो राजमार्गका रूपमा रहेको बिपी राजमार्ग क्षतिग्रस्त भई यातायात आवागमन ठप्प भएको थियो ।
बाढीपहिरोका कारण अवरुद्ध राजमार्गमा यातायात सञ्चालन गर्न डिभिजन सडक कार्यालय भक्तपुरले काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा र सिन्धुलीतर्फ डिभिजन सडक कार्यालय जनकपुरको सहयोगमा नेपाल थोकतर्फबाट सडक डाइभर्सनको काम गरेको छ । दुवैतर्फबाट डाइभर्सनको काममा तीव्रता दिएसँगै गत शुक्रबारदेखि राजमार्गमा यातायात सञ्चालन भएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताउनुभयो । उहाँले बाढीले क्षतिग्रस्त बनाएको चौकीडाँडामा डाइभर्सन लामो भएका कारण केही समस्या भएकाले मोड सुधारसमेत गरिएको बताउनुभयो ।
डिभिजन सडक कार्यालय भक्तपुरले बाढीपहिरोबाट क्षति भएको राजमार्गको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म एकतर्फी बाटो सञ्चालन गरेको हो । गत शुक्रबारबाट साना सवारी सञ्चालन भएको राजमार्गमा हालका लागि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ भने मङ्गलबारदेखि सडक इजाजत लिई सञ्चालनमा रहेका विभिन्न यातायात सेवा समितिका यात्रुवाहक बससमेत सञ्चालन भएका छन । कार्यालयले बाढीपहिरोका कारण क्षति भएको राजमार्गमा तत्काल दुईतर्फी सवारी सञ्चालन गर्न समस्या हुने जनाउँदै ठाउँ ठाउँमा पार्किङस्थल बनाइने जनाएको छ । रोसी गाउँपालिकाका पूर्वअध्यक्ष दलबहादुर मोक्तान तामाङले बाढीपहिरोबाट क्षतिग्रस्त भएको बिपी राजमार्गमा सवारीसाधन सञ्चालनमा समस्या रहेको बताउनुभयो । उहाँले बाढीपहिरो तथा वर्षाका कारण कमजोर भएको जमिन भएकाले सवारीसाधन चल्दा जमिन थर्किएर सुक्खा पहिरो गई थप क्षति हुने हो कि भन्ने डर कायमै रहेको बताउनुभयो । उहाँले तत्कालका लागि सवारीसाधन सञ्चालन भए पनि यात्रा जोखिमपूर्ण र कष्टकर रहेको बताउनुभयो । बाढीपहिरोका कारण बिपी राजमार्गको चौकीडाँडादेखि काभ्रेपलाञ्चोकको सीमा क्षेत्र बर्खेखोलासम्म १४ स्थानमा आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको कार्यालयले जनाएको छ । बाढीपहिरोपछि यसअघि असोज २४ गते बिपी राजमार्ग सञ्चालनमा ल्याइएको थियो तर सञ्चालनमा आएको केही घण्टा नबित्दै सुक्खा पहिरो खसेर सो राजमार्ग पुनः अवरुद्ध भएको थियो । असोज ११ र १२ गतेको बाढीपहिरोले काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थल मार्गका रूपमा रहेको सोे राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पु¥याएको थियो ।