काठमाडौं : अहिले मनसुन बाहिरिएर ‘पोष्ट’ मनसुन चलिरहेको छ। पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मौसमविदले मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको बताएका छन्। गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो। दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ। संघीय राजधानी काठमाडौं उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिकरूपमा बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यही असोज १५ गते काठमाडौँको न्यूनतम तापक्रम २० डिग्री सेल्सियस हाराहारी रहेकामा त्यसको एकसातापछि अर्थात सोमबार र मंगलबार न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस हाराहारी छ । काठमाडौंसहित देशका अधिकांश स्थानमा तापक्रम घट्ने क्रम छ। मौसमविद् अधिकारीले दुई सातामा ५ डिग्री तापक्रम घटेको बताउनु भयो । पोस्ट मनसुनपछि चिसो मौसम सुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।