काठमाडौं ः बडादशैँको अर्थात् शरद नवरात्रको छैटौँ दिन भए पनि मंगलबार पाँचौ दिनको कर्म गरिँदैछ । अर्थात् नवदुर्गाकी पाँचौँ स्वरूप स्कन्दमाताको पूजा आराधना गरिँदैछ । यो वर्षको बडादशैँमा चतुर्थी दुईदिन परेकाले मंगलबार पञ्चमीमा गरिने कर्म गर्नुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिनु भयो मंगलबार २ घडी ५३ पला अर्थात् बिहान ७ बजेर १० मिनेटसम्म मात्र पञ्चमी तिथि छ । त्यसपछि षष्ठी लाग्छ । स्कन्दमाता भगवती पार्वतीकै रूप हो । स्कन्दकुमार (कुमार) की माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणमा उल्लेख छ । गोरो वर्ण, चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्दकुमार छन् । यिनको यो स्वरूपलाई मातृरूप मानिन्छ । कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना पनि भनिन्छ ।
नवरात्रमा प्रत्येक दिन एक–एक देवीको आराधना गर्ने परम्परा छ । घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालु शक्तिस्वरूपा भगवतीको आराधना गर्छन् ।
पुराणअनुसार विभिन्न समयमा माता पार्वतीले लिएको रूपलाई नै नवदुर्गा भनेर पूजा आराधना गर्ने परम्परा चलेको हो। मार्कण्डेय पुराणअन्तर्गत देवीमाहात्म्य अनुसार नवदुर्गा भन्नाले शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री हुन् ।
आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाका दिन ‘दुर्गाघट’ स्थापना गरिएको दशैंघरमा नवमीसम्म प्रत्येक दिन क्रमैसँग एक–एक देवीको उपासना गर्ने परम्परा छ ।
नवरात्रमा महाकाली–महालक्ष्मी–महासरस्वतीको पनि आराधना गर्ने परम्परा छ ।