आज विश्व बसोवास दिवस मनाइँदै

मुख्य खबर NFM संवाददाता सोमवार अशोज २१, २०८१

दिगो सहरी विकास प्रवर्द्धन गर्दै सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न सुरु गरिएको विश्व बसोवास दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार संयुक्त राष्ट्र सङ्घीय मानव बसोवास कार्यक्रम (युएन ह्याबिट्याट) को आह्वानमा यो दिवस मनाउन थालिएको हो । नेपालमा भने सन् २००१ देखि सरकारी एवं गैरसरकारी क्षेत्रबाट यो दिवस मनाउन सुरु गरिएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । ‘कर्मशील युवा ः समुन्नत सहर’ नाराका साथ यस वर्षको विश्व बसोवास दिवस मनाउन लागिएको विश्व बसोवास दिवस २०८१ मूल तयारी समितिले जनाएको छ । यस अवसरमा आज सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग र युएन ह्याबिट्याटको संयुक्त आयोजनामा कार्यक्रम गर्न लागिएको जनाइएको छ । दिगो विकास लक्ष्यको लक्ष्य एक दशमलव एकले समावेशी तथा दिगो सहरीकरण गर्ने लक्ष्य लिएको छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालका नगरपालिकाको जनसङ्ख्या ६६ दशमलव १७ प्रतिशत रहेको छ । समग्र अर्थतन्त्रमा यस क्षेत्रको योगदान ७६ दशमलव एक प्रतिशत रहेको विभागले जनाएको छ ।

Leave a Comment