पश्चिम नवलपरासीको जंगलमा बाटो भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ खुर्सानीखोलास्थित दाउन्ने जंगलमा पूर्व–पश्चिम राजमार्ग भासिएको हो । सडक भासिएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन प्रवेशमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । उनका अनुसार सडक अनुमानित डेढ फिट भासिएको छ । बुटवल–नारायणगढ निर्माण हुँदै गरेको सडकको ‘रिटर्निङवाल’ चर्केर विद्युतको ‘हाइटेन्सन पोल’ पनि सडकमा ढलेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो । बाटो खुलाउनका लागि सडक डिभिजन, विद्युत् कार्यालय नवलपरासीको संयुक्त प्रयास भइरहेको उनले जानकारी दिनुभयो ।