असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउनेको सङ्ख्या दुई सय २७ जना पुगेको छ । गृहमन्त्रालयका प्रवक्ता, सहसचिव ऋषिराम तिवारीले अन्य २८ जना बेपत्ता र एक सय ४२ जना घाइते भएका जानकारी दिनुभयो । मन्त्रालयले अवरुद्ध सडक, विद्युत्, टेलिफोनलगायत अत्यावश्यक सेवाहरू शीघ्र सञ्चालन गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको तथा खोज र उद्धारकार्यलाई आवश्यकतानुसार सुरक्षा निकायबाट निरन्तरता दिइएको जनाएको छ । मन्त्रालयले विज्ञप्तिमा निकालेर सुरक्षा निकाय र सडक विभागसँगको समन्वयमा अवरुद्ध राजमार्ग सञ्चालन गर्ने, तत्काल शुरु गर्न नसकिने सडकमा वैकल्पिक मार्ग व्यवस्थापन गरी गाडीको आवागमन सहज बनाउने कार्य भइरहेको जनाएको छ । यसैविच सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । राष्ट्रिय शोकको समयमा सरकारी कार्यालयहरुको झण्डा आधा झुकाइनेछ तर सार्वजनिक बिदा हुने छैन । प्रधानमन्त्री ओली हिजो साँझ मात्र अमेरिका भ्रमणबाट फर्किएका थिए । उनी आइपुगेलगत्तै बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सरकारले १ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ । उक्त कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिनेछन् ।