झ्याप्लेखोला पहिरो अपडेट ः मृतकको सङ्ख्या ३० पुग्यो

मुख्य खबर NFM संवाददाता आइतवार अशोज १३, २०८१

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले पुरिएका गाडीबाट अहिलेसम्म ३० जनाको शव निकालिएको छ । उक्त स्थानबाट हिजो साँझ १४ जना र आज थप १६ जनाको शव निकालिएको हो । त्रिभुवन राजपथ अन्तर्गत झ्याप्लेखोलामा चितवनबाट काठमाडौँका लागि आएको माइक्रोबस पनि पुरिएको अवस्थामा भेटिएको छ । उक्त माइक्रोबसबाट १३ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
चितवनबाट काठमाडौँका लागि आएको बा ३ ज १३४५ नम्बरको माइक्रोबस पहिरोमा पुरिएको अवस्थामा भेटिएको छ । उक्त माइक्रोबसबाट १३ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम केसीले बताउनुभयो । उहाँका अनुसार उक्त माइक्रोबसबाट ४ महिला र ९ पुरुषको शव निकालिएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङ सूचना अधिकारी प्रल्हाद सिलवालका अनुसार पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशङ्कामा खोजी कार्य जारी रहेको छ । त्यहीँ पहिरोमा गोरखाबाट काठमाडौँ आउँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पनि पहिरोमा पुरिएको अवस्थामा फेला परेको छ । उक्त बसबाट ३ जना पुरुषको शव निकालिएको छ ।
त्यसैगरी बुटवलबाट काठमाडौँ आइरहेको माइक्रोबस पहिरोमा पुरिँदा १४ जनाको मृत्यु भएको छ । माइक्रोबसबाट आठ पुरुष, पाँच महिला र एक बच्चाको शव निकालिएको प्रहरीले जानकारी गराएको छ । पुरिएका सवारीसाधनहरू धुजा धुजा अवस्थामा रहेको र शव पनि छुट्टाछुट्टै भेटिएकोले कुन सवारीको शव कुन हो भन्ने यकिन गर्न कठिन छ । पुरिएको अवस्थामा फेला परेको सवारीहरू टुक्रा टुक्रा बनेकोले नम्बर पहिचान गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालय धादिङ सूचना अधिकारी सिलवालले जानकारी दिनुभएको छ ।
गोरखाबाट काठमाडौँ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसको भने यकिन भएको छ । एक्साभेटरले पहिरो खोतल्ने क्रममा बसको छतको डण्डीमा चालक मदन परियारको नम्बर देखिएपछि बसको यकिन भएको यातायात व्यवसायी अर्जुन भट्टले जानकारी दिनुभयो । पहिरोले पुरिएको अवस्थामा फेला परेको सो बसमा मुग्लिनसम्म चालक दलका तीनजना र एक जना यात्रु रहेको भनिएपछि बिच बाटोबाट यात्रु चढाएको हुनसक्ने अनुमान छ ।
त्यस्तै, चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौँ छुटेको माइक्रोबस (जम्बो हाइस)पनि झ्याप्ले खोलाको पहिरोमा पुरिएको र त्यसमा कति यात्रु थिए भन्ने यकिन नभएकोले पहिरोमा अझ अन्य शव भेटिन सक्ने आशंका गरी उद्धारकर्मीको टोलीले खोजी कार्य तीव्र पारेको छ ।

Leave a Comment