काठमाडौं ः नेपाल राष्ट्र बैंकले दशैंको लागि आज असोज १३ गतेदेखि सुकिला नोट वितरण गर्ने भएको छ ।
हरेक वर्ष दशैँका लागि नयाँ नोट साट्दै आएको नेपाल राष्ट्र बैङ्कले यस पटक सुकिला नोट मात्र दिने भएको हो । आजदेखि सर्वसाधारणले नेपाल राष्ट्र बैंकको कार्यलय र वाणिज्य बैंकका तोकिएका शाखा कार्यलयबाट सुकिला नोट साट्न सक्नेछन्। दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ । खर्चको व्यवस्थापन गर्न राष्ट्र बैङ्कले केही वर्षअघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो । राष्ट्र बैङ्कका सहायक प्रवक्ता डाक्टर डिल्लीराम पोखरेलले पुराना सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने जानकारी दिए। डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्न यस्तो निर्णय गरेको राष्ट्र बैङ्कले जनाएको छ । दशैँमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई एक वर्षअघि बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैङ्कमार्फत सटही व्यवस्था मिलाइने सहायक प्रवक्ता पोखरेलले बताउनु भयो । दशैँ–तिहारका लागि ५, १० २०, ५० र १०० दरका नयाँ नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैङ्कले यस पटक सुकिला नोट सटहीको सुविधा दिने छ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि केन्द्रीय बैंकले साना दरको १्१ सेटको दरले १८ हजार ५०० रुपैयाँको नयाँ नोट सटही गर्न सक्ने जनाएको छ ।